
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावितलाई आवश्यक बसोबास, खाद्यान्नलगायत सबै कुराको प्रबन्ध हुने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने बताउनुभएको छ ।
मंगलबार जाजरकोटका भूकम्प प्रभावितसँगको भेटमा उहाँले भन्नुभयो, ‘तपाईंहरूका लागि अल्पकालीन र दीर्घकालीन आवश्यकताको पहिचान गरी सोको व्यवस्था हुन्छ । चिन्ता गर्न पर्दैन । म सरकारसँग कुरा गर्छु’, राष्ट्रपतिको भनाइ उधृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले भन्नुभयो ।
उहाँले भूकम्प प्रभावितलाई जाडोयाम र वर्षाका बेलामा समस्या नहुने गरी अस्थायी आवासको प्रबन्ध गर्नुपर्ने बताउनुभएको छ । त्यस्तै स्थायी आवास बनाउँदा दीर्घकालीन रुपमा उपयुक्त ठाउँको पहिचान गर्नुपर्ने पनि राष्ट्रपति पौडेलको भनाइ छ ।
पौडेलले स्थानीय जनप्रतिनिधिलाई लोकतन्त्रमा जिम्मेवार सरकार कस्तो हुन्छ भन्ने अनुभूति हुने गरी भूकम्प पीडितका लागि काम गर्न आग्रहसमेत गर्नुभएको छ ।
