
महान लोक पर्व जितिया आज सम्पन्न भएको छ ।
जितिया पर्व मैथिल संस्कृतिको एउटा मुख्य पर्व हो ।
बिहीबारदेखि सुरु भएको यो पर्व आज(सनिवार ) पूरा हुँदैछ ।
जितिया पाबनि बड भारी’ (जितिया पर्व धेरै ठूलो छ) भन्ने कथन अनुरूप व्रती आमाहरूले निराहार उपवास बसी व्रतलाई खण्डित हुन नदिने सङ्कल्प गरेका हुन्छन् ।
हिन्दू पात्रोअनुसार असोज कृष्ण पक्षको अष्टमीदेखि नवमीसम्म मनाइने जितिया पर्व आज सकिँदैछ । बिहीबारदेखि सुरु भएको यो पर्व आज विहान पूरा हुन लागेको हो ।
ज्यातिषशास्त्रअनुसार महिलाले सन्तानको दीर्घायु र समृद्धिका लागि जितिया व्रत बस्ने गर्दछ । यो व्रत बस्दा सन्तान प्राप्तिका साथै सन्तानलाई दुःख, पीडा र समस्याबाट जोगाउँछ भन्ने विश्वास गरिन्छ ।
जितिया पर्व मैथिल संस्कृतिको एउटा मुख्य पर्व हो । यसलाई जिमुतवाहन व्रत पनि भनिन्छ । विशेषरूपले आइतबार र मङ्गलबार पर्ने जितियालाई अधिक महत्व दिइन्छ । यस अन्तर्गत यस व्रतको सप्तमी तिथिमा व्रतीले नहाय खाय, तेलखरि र पितराइन, रातिको अन्तिम प्रहरमा ओठगन गर्ने चलन छ ।
अष्टमी तिथिका दिन व्रतीले नजिकको पोखरी, तलाउमा स्नान गरी भगवान् सूर्यलाई अघ्र्य अर्पण गर्छन् । त्यसपछि व्रतको सङ्कल्प गरिन्छ र घरमा आएर डाली भर्ने गरिन्छ । डालीमा नरिवल, काँक्रो, स्याउ, केरालगायतका फलफूल राखेर नयाँ कपडाले छोपिन्छ । मध्याह्नतिर टोलभरिका आमा एक ठाउँमा भेला भई जिमुतवाहन व्रतको महत्व, पर्वको शुभारम्भ र जिमुतवाहन देवताको बारेमा कथा सुन्ने गरिन्छ ।
साँझतिर आँगनमा गाईको गोबरले लिपपोत गरी एउटा सानो खाल्डो खनेर पोखरीको निर्माण गरिन्छ । त्यो पोखरीको डिलमा पाकडी रूखको सानो हाँगा गाड्नुका साथै हाँगाको माटोको चिलको आकृति र हाँगामुनि स्यालको आकृति बनाइन्छ । त्यहाँ जलले भरिएको कलशमा कुशको जिमुतवाहनको मूर्ति राखिन्छ र फलफूल लिएर जिमुतवाहनको व्रती आमाले पूजापाठ गर्दछन ।
नवमी तिथिका दिन व्रतीले स्नानादि गरी पवित्र भई पूर्ववत् जिमुतवाहन, चिल, स्यालको व्यवस्था गर्ने र दिवङ्गत महिलालाई नैवेद्य अर्पण गरेर प्रसाद लिई पारण गरी व्रतलाई सम्पन्न गरिने परम्परा रहेको छ । यो व्रत कुनै शास्त्रीय देवताको नभई लोकदेवताको भएको बुझिन्छ । यसमा जिमुतवाहन नामक लोकदेवताको पूजा गरिन्छ । जितिया व्रत गर्नाले सन्तानको दीर्घायु र आरोग्य रहनुका साथै खासगरी कुनै आकस्मिक खतराबाट रक्षा हुने विश्वास रहेको पाइन्छ ।
उपवासको पूर्वसन्ध्यामा मध्यरातमा खाने खाना दही च्युउरासँगै माछा र मरुवा अनिवार्य खाने चलन छ । शुक्रबार बिहान ४ बजेवाट निराहार बसी शनिबार विहान १० बजेपछि नवमी तिथी प्रारम्भ भएसँगै उपवास तोडेपछि जितिया व्रत सम्पन्न भएकोछ ।
