
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभालाई संयुक्त राष्ट्र संघको महासभा र चीन भ्रमणबारे जानकारी गराएका छन् । शुक्रबार प्रधानमन्त्री दाहालले प्रतिनिधिसभामा आफ्नो राष्ट्र संघको ७८औं महासभा र चीन भ्रमणबारे जानकारी गराएका हुन् ।
प्रधानमन्त्री दाहाल शनिबार राष्ट्रसंघको महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क जाँदैछन् । प्रधानमन्त्री दाहाल १९औं एसियाली खेलकुदको उद्घाटनमा सहभागी हुन न्युयोर्कबाटै चीनसमेत जाँदैछन् । त्यही क्रममा उनले राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली खछ्याङसँग भेटवार्ता गर्नेछन् ।
प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग हाङझाउमै भेटवार्ता हुने पनि सदनलाई जानकारी दिए । नेपालले यूएनको महासभामा एक दर्जन मुख्य कार्यक्रममा सहभागिता जनाउने गरी गृहकार्य भएको छ । सेप्टेम्बर २१ मा महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री दाहाल चीन भ्रमणमा निस्कने कार्यक्रम छ ।
प्रधानमन्त्री दाहालले सीसँगको भेटवार्ताबारे जानकारी दिँदै भने, ‘हाङझाउमै महामहिम चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता हुने कार्यक्रम रहेको छ ।’ प्रधानमन्त्रीको हैसियतमा दाहाल तेस्रो पटक चीन भ्रमणमा जान लागेका हुन् । त्यस्तै बेइजिङमा सेप्टेम्बर २५ मा चिनियाँ समकक्षी ली खछ्याङसँग औपचारिक भेट र द्विपक्षीय भेटवार्ता हुने पनि प्रधानमन्त्री दाहालले संसद्लाई जानकारी गराए ।
अमेरिकाबाट सिधै चीन भ्रमणमा जाँदा राम्रो कूटनीतिक सन्देश नजाने भनेर आलोचना भइरहँदा प्रधानमन्त्री दाहालले भने राष्ट्रसंघीय महासभा र चीनको भ्रमणतालिकाबीचमा छोटो समय भएकाले न्युयोर्कबाटै बेइजिङ जान लागेको बताए । नेपाल र चीनबीच सदियौँदेखि घनिष्ठ सम्बन्ध रहँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यस पटकको भ्रमणमा कोभिडका कारण सञ्चालन हुन नसकेका विभिन्न नाकाहरू खोल्ने विषयमा पनि छलफल पनि हुने बताए ।