
जानकी खबर । ६ जेठ
जनकपुुरधााम – राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान शुरु भएको छ । राष्ट्रियसभाको बिहीबारको उपनिर्वाचनमा मतदातालाई कोरोना परीक्षणको रिपोर्ट अनिवार्य नगरिएको खुलेको छ । मतदान प्रक्रियाबाट मतदाता कसैलाई पनि वञ्चित नगर्नका लागि यस्तो निर्णय गरिएको हो ।
वाग्मती प्रदेशका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुखउपप्रमुख मतदाता रहने निर्वाचनमा कोरोना संक्रमित मतदाताका लागि भने अलग्गै व्यवस्था गरिएको निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो ।आज बिहान करिब सवा नौ बजेबाट शुरु भएको मतदान प्रक्रिया अपराह्न ३ बजे सकिने छ ।
वाग्मती प्रदेशअन्तर्गतका उपनिर्वाचनमा नेकपा(एमाले)का तर्फबाट गृहमन्त्री रामबहादुर थापा, नेपाल मजदूर किसान पार्टीबाट कृष्णगोपाल तामाङ र स्वतन्त्र खिमलाल देवकोटा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । मतदान सकिनासाथ गणना सुरु हुने र भर्चुअल माध्यमबाट आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।
उपनिर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र वाग्मती प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ । मतदातामध्ये प्रदेशसभा सदस्य पशुपति चौलागाईंको भने केही दिनअघि निधन भएको छ ।
मतदाताको निर्वाचक मण्डलबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको उक्त निर्वाचनमा सहभागी हुन सबै मतदातालाई आयोगले अनुरोध गरेको छ । हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी उच्च माध्यमिक विद्यालयमा कायम गरिएको केन्द्रमा मतदान हुदैँछ ।
केन्द्रमा प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र कोभिड सङ्क्रमित मतदाताका लागि बेग्लाबेग्लै मतदानको व्यवस्था मिलाइएको छ । उपनिर्वाचनमा यसअघिका विभिन्न निर्वाचनमा जारी मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्र देखाएर मतदान गर्न सकिने छ ।
