
१५ साउन, काठमाडौं । भारतको महाराष्ट्रमा चलिरहेको रेलमा गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ ।
जयपुरबाट मुम्बई जाँदै गरेको रेलमा रेलवे सुरक्षा बल (आरपीएफ)का जवानले महाराष्ट्रको पालघर भन्ने स्थानमा आज बिहान गोली प्रहार गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
भारतीय सञ्चारमाध्यमहरुले लेखेअनुसार मारिनेमा रेलवे सुरक्षा बलका सहायक निरीक्षक (असई) पनि छन्। सोमबार बिहान ५ बजे आसपास महाराष्ट्रको पालघर रेलवे स्टेशन नजिकै आरपीएफका जवान चेतन कुमार चौधरीले आफ्नो एस्कर्ट ड्युटी इञ्चार्ज असई टीकाराम मीनामाथि गोली चलाएका थिए। आफ्नो स्वचालित हतियारबाट असईमाथि गोली चलाएका उनले त्यसपछि अर्को बोगीमा छिरेर यात्रुमाथि गोली प्रहार गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
घटनामा सहायक निरीक्षक टीकाराम मीना र ३ जना यात्रु गरी ४ जनाको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन्। पालघर मुम्बईबाट करिब १०० किलोमिटर टाढा छ।
रेलवे सुरक्षा बलकै जवानले रेलमा किन गोली चलाए भन्ने खुलेको छैन । उनलाई नियन्त्रणमा लिइएको र घटनाको अनुसन्धान गरिरहेको महाराष्ट्र प्रहरीले जनाएको छ ।
सरकारी रेलवे पुलिस र आरपीएफ अधिकारीहरूको सहयोगमा प्रहरीले मिरा रोडबाट जवान चौधरीलाई नियन्त्रणमा लिएको थियो।
