
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पूर्व क्षेत्रका उद्योगी सँग उद्योगमा ताल्चा नलगाउने र चन्दा नमाग्ने बाचा गरेका छन् । मोरङ व्यापार संघले शनिबार विराटनगरमा आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा लामिछानेले उद्योगीलाई करचाप लगाएर पार्टीको सदस्यता नबनाउने र आफ्नो पार्टीको मजदुर संगठनले देशभरीको कुनैपनि उद्योगमा ताल्चा नलगाउने बाचा गरेका छन् । तर कुनै पनि उद्योग व्यापार क्षेत्रको व्यक्ति पार्टीको सदस्यता लिन र स्वेच्छाले सहयोग गर्छन भने त्यसलाई सहज रुपमा स्वीकार गर्ने लामिछानेले बताए । हामीले कसैलाई करचाप लगाउदिन । तर कसैले स्वेच्छाले केही गर्छन भने पछाडी हट्दीन । उनले थपे ।
मोरङ व्यापार संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) का केन्द्रिय सदस्य नविन रिजाल, संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडा पूर्व अध्यक्ष महेश जाजु, शंकरलाल अग्रवाल, ताराचन्द खेतान, सुरेश कुमार शर्मा र संघका पदाधिकारी तथा कार्यकारिणी समितिका सदस्यहरुले देशमा विद्धमान समस्याका बारेमा जानकारी गराउँदै उद्योगलाई हेर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको आधिकारीक धारणा के हो बुझ्न भेटघाट तथा छलफल कार्यक्रमको आयोजना गरेका थिए ।
संघका अध्यक्ष रिजालको निम्तोमा लामिछाने उद्योग व्यवसायी क्षेत्रलाई हेर्ने पार्टीको आधिकारी धारणा सार्वजनिक गर्न मोरङ व्यापार संघ विराटनगर पुगेका थिए ।
