
जानकी खबर ।५ जेठ, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीमाथि कारबाहीको माग गरेका छन्।
राष्ट्रियसभा उपनिर्वाचनमा प्रधानमन्त्री केपी शर्मा ओलीले आचारसंहिता उल्लंघन गरेको भन्दै नेकपा माओवादी केन्द्रलेकारबाही गर्न निर्वाचन आयोगसंग माग गरेको छ ।
दाहालका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले बुधबार विज्ञप्ति प्रकाशित गरी ओलीमाथि कारबाहीको माग गरेका हुन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीले मौन अवधिमा सार्वजनिक वक्तव्यमार्फत कुनै उम्मेदवारलाई विजयी गराउन मतदातालाई धम्की दिएको भन्दै कारबाहीका लागि आग्रह गरेका हुन् ।
प्रचण्डको सचिवालयले बुधबार साँझ जारी गरेको विज्ञप्तिमा ‘प्रधानमन्त्रीको यस कार्यको निन्दा र भर्त्सना गर्दै आवश्यक कारबाहीका लागि निर्वाचन आयोग समक्ष आग्रह गरिएको छ।
प्रचण्डले सरकार प्रमुखले नै स्वतन्त्र, स्वच्छ र मर्यादित निर्वाचन गराउनुको सट्टा कुनै उम्मेदवारको पक्षमा अपिल गर्नु स्वच्छ र निष्पक्ष निर्वाचनको आधारभूत सिद्धान्त विपरीत भएको बताएका छन् । एमाले उम्मेद्वार रामबहादुर थापालाई विजयी बनाउन ओलीले मतदातालाई गरेको अपिलप्रति गम्भीर ध्यानाकर्षण भएको दाहालको सचिवालयले जनाएको छ। बुधबार प्रधानमन्त्री ओलीले नेकपा एमालेका मतदातालाई आफ्नो पार्टीका उम्मेदवारलाई मत दिन र नदिए क्षम्य नहुने भनी विज्ञप्ति जारी गरेका थिए ।

