
जयनगर– जनकपुरधाम–कुर्था रेल सेवा विस्तार आइतबारदेखि हुने भएको छ ।
भारतको जयनगरदेखि जनकपुरधामको कुर्था हुँदै महोत्तरीको भंगहा नगरपालिकाको विजलपुर ासम्म रेल सञ्चालन हुने भएको छ । झण्डै २४ वर्ष पूर्व महोत्तरी जिल्लाको बिग्ही नदीमा रहेको रेलको पुल बाढीमा क्षतिग्रस्त भएपछि सेवा बन्द भएको थियो । भारतमा शासक रहेको अंग्रेजले महोत्तरी जिल्लाको जंगलबाट साखुको काठ ढुवानीका लागि सञ्चालन गरेको रेल भारतको जयनगरदेखि महोत्तरीको बिजलपुरा सम्मको ५१ किलोमिटर दूरीमा सञ्चालन गरिएको थियो । रेल सेवा थप १७ किलोमिटर दूरीमा सञ्चालनका लागि शुभारम्भ गरिने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जनाएका छन् । उनका अनुसार रेल शुभारम्भको लागि नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला आउन लागेका छन्I
सोमबारदेखि विजलपुरादेखि जयनगरसम्म रेल सेवा नियमित सञ्चालन हुने उनले बताए । जयनगरबाट जनकपुरधामको कुर्थासम्म गत ०७८ चैत २० गतेदेखि ३५ किलो मिटरमा रेल सञ्चालन हुँदै आएको छ । यसअघि न्यारोगेज रेल्वे पनि विजलपुर ासम्म सञ्चालनमा थियो । कुर्था विजलपुरा खण्डमा रेल सेवा सञ्चालन भएपछि ब्रोडगेज रेलको लम्बाई ५२ किलोमिटर पुग्नेछन् । रेल्वे विजलपुरासम्म सञ्चालनमा आउने भएपछि सञ्चालनको समयमा हेरफेर भएको झाले बताए । अब महोत्तरीको बिजलपुराबाट विहान ७ः३० बजे रेल जयनगरका लागि खुल्नेछ ।
जयनगर हँुदै जनकपुरधामबाट साँझमा बिजलपुराका लागि रेल्वे प्रस्थान हुनेछ । कुर्थादेखि बिजलपुरासम्म दुईवटा स्टेशन र दुईवटा हल्ट छन् । अहिले पुरानै जनशक्तिलाई व्यवस्थापन गरी सेवा विस्तार गरिएको उनले बताए । एक सय १४ जना नेपाली र २० जना भारतीय विभिन्न पदमा कार्यरत छन् । निर्माण कार्य सम्पन्न भएको कुर्थाबाट बिजलपुरासम्मको रेल्वे ट्रयाक गत जेठ १८ गते भारतीय रेल्वे कम्पनी इरकन इन्टरनेसनल कम्पनी लिमिटेडका महाप्रबन्धक दीपक कुमारले नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जकुमार झालाई हस्तान्तरण गरेका थिए ।
रेल सञ्जाललाई नेपालमा विस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौता भएको थियो ।
