
१९ असार, धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्ता फेरबदलको चर्चा चले पनि आफ्नो पार्टी त्यस दौडमा नरहेको बताएका छन् ।
लामिछानेले अहिले रास्वपा संगठन विस्तारमा जुटेकाले सत्ता फेरबदलका लागि हुने कुनै पनि बैठकमा सहभागी नभएको जिकिर गरेका छन् । ‘सत्ता फेरबदल हुने चर्चा चलेको कुरा मैले पनि सुनेको छु तर अहिले हामी संगठन विस्तारको क्रममा रहेकाले त्यो रेसमा छैनौं’ धनगढी विमानस्थलमा आज पत्रकारहरुसँग लामिछानेले भने, ‘अघिल्लो पटक नै सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा जाने निर्णय लिएका हौं । सत्ता फेरबदलबारे सुनेपनि म न कुनै बैठकमा गएको छु, न कुनै नै चासो राखेको छु । कुनै पनि क्रियाकलापमा सहभागी छैनौं ।’
तर मिश्रित जनमतका कारण यो पाँच वर्ष सत्ता फेरबदल हुने क्रम चलिरहने लामिछानेको भनाइ छ । अहिले सरकारले जनपक्षीय काम गर्न नसकेको र सत्ता जोगाउने खेलमा मात्र सीमित रहेको आरोप उनले लगाए ।
अहिलेको आर्थिक संकटको समाधान गर्ने गरी बजेट ल्याउनुपर्नेमा सरकारले नियमित जस्तै बजेट ल्याएको उनले बताए ।
