
२०२४ को चुनावलाई भव्य बनाउन भाजपाले मन्त्रिपरिषद हेरफेरसँगै केही रणनीतिक काम थालेको छ, जसले मोदीलाई नेहरुपछि तेस्रोपल्ट प्रधानमन्त्री बन्ने दोस्रो नेताका रुपमा ल्याउने उसको अपेक्षा छ ।
तीन साताअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शासनको नवौं वर्षगाँठ मनाउन व्यस्त थिए भारतीय जनता पार्टी (भाजपा)का कार्यकर्ता । अहिले उच्च नेतृत्व तथा शुभेच्छुक संगठनका नेता चुनावी बहसमा केन्द्रित छन् । लोकसभा चुनावमा ५० प्रतिशत मत सुरक्षित गर्ने तयारीमा भाजपा छ ।
सन् १९५७ मा भएको लोकसभा निर्वाचनमा जवाहरलाल नेहरू नेतृत्वको कंग्रेसले बाहेक कुनै पनि गठबन्धनले यो प्रतिशत कटाउन सकेका छैनन् । त्यस बेला कंग्रेसले ४७.८ प्रतिशत मत ल्याएको थियो ।
सन् २०१९ मा अति लोकप्रिय रहँदा पनि भाजपाले ३७.३६ प्रतिशत मत ल्याएको थियो भने नेशनल डेमोक्रेटिक एलायन्स (एनडीए) मा आवद्ध दलको मत जोड्दा ४५ प्रतिशत मत थियो ।
विगत चार वर्षयता हेर्ने हो भने एनडीएका प्रमुख तीन घटकले गठबन्धन छोडेका छन् । शिरोमणि अकाली दल, जनता दल युनाइटेड र शिव सेना त्यस घटकमा छैनन् । शिव सेना विभाजित भएर बनेको नयाँ शिव सेनाले चुनाव नै सामना गर्न बाँकी छ ।
भाजपाले यसपटक फेरि सत्ताको म्यान्डेट पाएमा मोदी लगातार तेस्रो कार्यकाल प्रधानमन्त्री बन्ने भारतका दोस्रो प्रधानमन्त्री हुनेछन् । भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरु लगातार तेस्रो कार्यकाल प्रधानमन्त्री बनेका थिए ।
मोदीको तेस्रो कार्यकाल सुरक्षितका लागि सत्ताविरोधी स्वर कम गर्नुपर्ने महसुस भाजपाले गरेको छ । त्यसलै उसले १६० निर्वाचन क्षेत्रमा विशेष प्राथमिकतामा राख्दै त्यहाँ अतिरिक्त ध्यान केन्द्रित गरेको छ ।
कर्नाटक र हिमाञ्चल प्रदेशको परिणामपछि भाजपाले आफ्नो सञ्चार शैली सच्याउनुपर्ने आवश्यकता महसुस गरेको छ । त्यसैले भाजपाले अहिले विगतमा टिकट नपाएका काबिल तर असन्तुष्ट कार्यकर्तालाई फकाइरहेको छ ।
२०२४ को चुनावमा सफलता हात पार्न भाजपाले ५ रणनीति अघि सारेको छ । पहिलो, एनडीएको पुनर्गठन । दोस्रो, संगठनको व्यवस्थापन । तेस्रो, क्याबिनेट पुनर्गठन । चौथो, नयाँ उम्मेदवार खोजी र पाँचौं जनताबाट प्रत्यक्ष निर्वाचितलाई मात्रै मन्त्री बनाउने नीति ।
