
डेस्क । बारा, चितवन र तनहुँमा आज उपनिर्वाचन हुँदै छ । मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ ।
चितवन २ मा यसअघि लामिछाने देशभरमै सबैभन्दा धेरै मतान्तरले निर्वाचित भएको क्षेत्र हो । तर, नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसलासँगै सांसद पद गुमेपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । तनहुँ १ रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि खाली भएका निर्वाचन क्षेत्र हुन् । यसअघि चुनाव जितेका क्षेत्रहरू भएकाले चितवनमा रास्वपा, तनहुँमा कांग्रेस र बारा जसपाका लागि परिणाम ल्याउनैपर्ने दबाबका कारण प्रतिष्ठाको निर्वाचन बनेको छ ।
गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएकाले, बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएकाले ती क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको हो ।
उपनिर्वाचन हुने बारा २, चितवन २ र तनहुँ १ मा आज मतदान हुँदै छ । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनको तयारी पूरा भएको छ । निर्वाचन हुने क्षेत्रमा आज सार्वजनिक बिदा घोषणा गरिएको छ ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार तीन निर्वाचन क्षेत्रमा ६५ उम्मेदवार मैदानमा छन् । मतदानका लागि एक सय ९४ मतदान स्थल र चार सय २७ मतदान केन्द व्यवस्थापन गरिएको छ ।
आयोगले निर्वाचनलाई स्वतन्त्र र भयमुक्त हुने सुनिश्चिततासहित सुरक्षालगायत सम्पूर्ण तयारी पूरा भएको भन्दै निर्धक्क मतदानको अधिकार उपयोग गर्न मतदातालाई अनुरोध गरेको छ । ‘निर्वाचनलाई कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिन आयोग दृढ संकल्पित छ । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्ने कार्यमा सबैको सकारात्मक सहयोग र इमानदार प्रयत्न हुनेछ भन्ने विश्वास व्यक्त गर्दछ,’ आयोगले विज्ञप्तिमार्फत भनेको छ, ‘उपनिर्वाचन व्यवस्थापनको सन्दर्भमा राजनीतिक दल, उम्मेदवार, मतदाता, नागरिक समाज र आमसञ्चारमाध्यमलगायत सबै सरोकारवालाको सहयोग र सहभागिताबाट निर्वाचन सम्पन्न हुनेमा आयोग विश्वस्त रहेको छ ।’
नौजना उम्मेदवार रहेको तनहुँ १ मा सत्ता गठबन्धनबाट कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । २२ जना उम्मेदवार रहेको चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, सत्ता गठबन्धनबाट कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठ र एमाले उम्मेदवार रामप्रसाद न्यौपाने मुख्य प्रतिस्पर्धी मानिएका छन् । बारा २ मा सत्ता गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्रप्रसाद कुसवाह, रास्वपाबाट पूर्वडिआइजी रमेश खरेल र एमालेबाट पुरुषोत्तम पौडेलबीच प्रतिस्पर्धाको आकलन छ ।
निर्वाचनका लागि सुरक्षा व्यवस्था धेरै कडा पारिएको छ ।
