२०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज सुरु हुँदै छ। २९ चैतसम्म सञ्चालन हुने परीक्षा बिहान ८ बजेदेखि हुने छ।राष्ट्रिय परीक्षा बोर्डको तथ्यांकअनुसार यसपटक देशभरका ५ लाख १६ हजार ५९१ जना विद्यार्थी परीक्षामा सहभागी हुँदै छन्।

जसमध्ये २ लाख ६० हजार ६७४ जना छात्र र २ लाख ५५ हजार ९१७ जना छात्रा छन् । परीक्षार्थीका लागि ७७ वटा जिल्लामा २ हजार ३७ परीक्षा केन्द्र तोकिएको छ।

परीक्षाका लागि हरेक प्रदेशमा फरक–फरक प्रश्नपत्र निर्धारण गरिएको छ। २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुने भएकाले पुरानो पाठ्यक्रमअनुसार यो नै अन्तिम एसईई परीक्षा हुने भएको छ। परीक्षा सञ्चालनका लागि देशभर ७० हजारभन्दा बढी जनशक्ति खटिँदै छन्।

जापानबाटै परीक्षा
परीक्षा बोर्डका अनुसार जापानबाट पनि १४ जना परीक्षार्थीले एसईईमा सहभागिता जनाउँदै छन्। वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीले जापानको एभरेस्ट इन्टरनेसनल स्कुलबाट परीक्षा दिन लागेका हुन् । जसमा ४ छात्रा र १० छात्र छन्।

परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डद्वारा तयार गरिएकै प्रश्नपत्र अनलाइनमार्फत् पठाइनेछ भने नेपाली राजदूतावास टोकियोको सुपरीवेक्षणमा परीक्षा सञ्चालन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *