धनुषा प्रहरीले स्रोत नखुलेको १४ लाख रूपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर-२ धनुषाधाम बस्ने ५५ वर्षीय जोगिन्द्र यादव र सोही ठाउँ बस्ने १९ वर्षीय कृष्ण साह रहेका छन् ।
बिहीबार दिउँसो ४ बजेको समयमा जनकनन्दनी गाउँपालिका वडा नम्बर-५ बनरझुल्ला अगाडि ईलाका प्रहरी कार्यालय खजुरी र प्रहरी चौकी बल्हागोठबाट खटेको संयुक्त चेकिङ्ग टोलीले उनीहरूलाई स्रोत नखुलेको सो रकमसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
जयनगरबाट जनकपुरधामतर्फ आउँदै गरेको प्रदेश-२-०२-००३ प ७०४५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक यादवको साथबाट १० लाख र मोटरसाइकलको पछाडि सवार साहको साथबाट ४ लाखसमेत गरी जम्मा १४ लाख नेपाली रूपैयाँ बरामद भएको डीएसपी गौतमले जानकारी दिए ।
पक्राउ परेका दुबैजनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई थप अनुसन्धान कार्य भइहेको प्रहरीले जनाएको छ ।
