

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा उपराष्ट्रपति चयनका लागि मतदान हुन लागेको हो ।
बिहान १० बजेदेखि ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने र साँझ ६ बजेभित्र निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी गरिएको शर्माले बताइन् ।
उपराष्ट्रपति पदको निर्वाचनका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य (बोहरा), सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा गरी चार उम्मेदवार छन् । जसपाकी प्रमिला कुमारीले आफ्नो उम्मेदवारी निष्कृय भएको घोाषणा गरेकी छन् । तर उम्मेदवारी फिर्ता लिने समयभन्दा पछि मात्रै उम्मेदवारी निष्कृय भएको भनेकाले मतपत्रमा उनकोसमेत नाम छ ।
उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहेका छन् । संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ ।
मुलुक संघीय लोकतान्त्रिक शासन व्यवस्थामा प्रवेश गरेपछि पहिलो राष्ट्रियपतिमा डा.रामवरण यादव र उपराष्ट्रपतिमा परमानन्द झा निर्वाचित भएका थिए ।
