
काठमाडौं । निवर्तमान गृहमन्त्री रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका छन् ।
आइतबार बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उनले नागरिकता लिने प्रक्रिया थालेका हुन् ।
उनका समर्थक पनि जिल्ला प्रशासन कार्यालय पुगेका छन् ।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनःप्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पुरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो । यससँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पद पनि गुमाएका छन् ।
अमेरिकाको नागरिकता त्यागेपछि नेपालको कानुनबमोजिम नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै अधिवक्ता रविराज बसौला र युवराज पौडेलले सर्वोच्चमा रिट हालेका थिए । सो रिटमाथि कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले लामिछानेको नागरिकतासम्बन्धी फैसला गरेको थियो ।
