काठमाडौं । ७२ जना सवार यती एयरलाइन्सको विमान आइतबार विहान पोखराको सेती खोंचमा दुर्घटना भयो । काठमाडौंबाट विहान १०ः३० बजे ६८ जना यात्रु लिएर उठेको विमानमा चार जना चालक दलका सदस्य थिए । दुर्घटनामा परी मृत्यु भएका ३२ जनाको शव निकालिएको छ । अहिले पनि उद्धार जारी छ । उद्दारबारे अनुगमन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको कन्ट्रोल रुममा पुगेका थिए । विमान दुर्घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । घटनाको बारेमा जानकारी लिन चाहने परिवार आफन्त सरोकारवालाका लागि त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने पनि सरकारले निर्णय गरेको छ । आजै दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरेको हो । सरकारले विमान दुर्घटनाको शोकमा माघ २ गते सोमबार सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ ।