१९ कात्तिक, काठमाडौं । जनता समाजवादी पार्टीले राष्ट्रपति र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने योजनासहितको घोषणापत्र सार्वजनिक गरेको छ ।

शनिबार अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुले सार्वजनिक गरेको घोषणापत्रमा जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने शासकीय स्वरुपको कल्पना गरिएको छ ।

प्रत्यक्ष तथा सहभागितामूलक समावेशी लोकतन्त्रको मान्यता अनुरुप संघमा बलिग मताधिकारमा आधारित जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति हुने व्यवस्था गर्ने’ जसपाको घोषणापत्रमा भनिएको छ, ‘प्रदेशहरुमा मुख्यमन्त्री तथा विशेष संरचना तथा स्थानीय तहहरुमा त्यहाँको कार्यकारी प्रमुख पनि बालिग मताधिकारको आधारमा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने ।’

जसपाले संघीय संसद र प्रदेशसभाहरु पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट चयन गर्ने, कुनै पनि व्यक्ति दुई कार्यकाल भन्दा बढी कार्यकारी प्रमुख हुन नपाउने व्यवस्था गर्ने पनि घोषणा गरेको छ । कार्यकारी राष्टपतिले समावेशी रुपमा सक्षम व्यक्तिहरुको छनोट गरी मन्त्रिपरिषद बनाउने, मन्त्रीहरु राजनीतिज्ञ र विशेषज्ञहरु मध्येबाट राष्ट्रपतिले नियुक्त गर्ने पनि जसपाको घोषणा छ ।

त्यस्तै घोषणा–पत्रमा शक्ति जनलोकपाल गठन गरी भ्रष्टाचारको अन्त्य गर्ने र नागरिकतामा विद्यमान लैंगिक विभेदको अन्त्य गरी सबै नेपाली नागरिकलाई नागरिकता प्रदान गर्ने प्रतिबद्धता पनि उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *