
काठमाण्डु, ५ असोज– सत्ता गठबन्धनले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रियपति विद्यादेवी भण्डारीले संविधान उल्लंघन गरेको निस्कर्ष निकालेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको गठबन्धन बैठकले संघीय संसदका दुवै सदनले दोश्रोपटक पारित गरेको पठाएको विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको मुल मर्म र भावनामा प्रहार गरेको तथा जननिर्वाचित प्रतिनिधिमूलक संस्था संसदको अपमान गरेको निस्कर्ष निकालेको हो ।
४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका लागि बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेको विषयमा छलफल भएको थियो ।
प्रतिनिधिसभा र राष्ट्रियसभाले दोश्रोपटक हुबहु पारित गरेको विधेयक सभामुख अग्नि सापकोटाले प्रमाणित गरी प्रमाणीकरणका लागि गत २० भदौमा शीतलनिवास पठाएका थिए । विधेयक प्राप्त भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने कानूनी व्यवस्था छ । उक्त समयसीमा मंगलबार राति १२ बजेबाट सकिएको थियो ।
सत्ता गठबन्धनले राष्ट्रपतिले प्रतिपक्षी एमालेको उक्साहटमा विधेयक रोक्ने काम गरेको पनि आरोप लगाएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले संयुक्त विज्ञप्ति जारी गरी राष्ट्रपतिले संविधानको पालना गर्नुपर्ने कर्तव्यको संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको ठहर गरेको हो ।

