
४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ ।
उपचारको क्रममा आज(शनिबार )साँझ उहाँको निधन भएको हो ।
निमोनियाको कारण शरीरका अंगहरुले काम गर्न छाड्दै गएको थियो ।
उनको पार्थिव शरीरलाई भोलि आइतबार विहान ९ बजेदेखि ११ बजेसम्म अस्पताल परिसरमै श्रद्धान्जलीका लागि राखिने र विहान साढे ११ देखि २ बजेसम्म पार्टी कार्यालय सानेपामा राख्ने पछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ।
मुम्बईमा क्यान्सरको उपचार गरेर फर्किएका गिरि साउन दोस्रो साता मेडिसिटी अस्पताल, नख्खुमा भर्ना भएका थिए ।
आफ्ना बुबा मित्रलाल गिरी नेपाली कांग्रेसका नेता भएकाले सानै उमेरमा राजनीतिमा संलग्न भएको र २०१७ सालदेखि सक्रिय राजनीति प्रारम्भ गरेको उहाँ बताउनुहुन्थ्यो ।राजनीतिक संघर्षका क्रममा २०२५ सालमा १८ महिना र २०४२ सालमा झण्डै एक वर्ष समेत गरी हालसम्म कुल चार वर्ष उहाँले जेल जीवन बिताउनुभएको उहाँ २०२४ सालमा नेपाल छात्र सङ्घ (बनारस)को निर्वाचित उपाध्यक्ष हुनुहुन्थ्यो। २०५१ सालको संसदीय निर्वाचनमा सिरहा क्षेत्र नं. ५ बाट निर्वाचित गिरीले २०५६ को संसदीय निर्वाचनमा समेत भाग लिनुभएको थियो। व्यवस्थापिका संसदमा उहाँले नेपाली काङ्ग्रेस, प्रजातान्त्रिकका तर्फबाट प्रतिनिधित्व गर्नुभएको थियो।
भारत, जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रका स्नातकोत्तर गिरी अध्ययनमा विशेष रुचि राख्नुहुनथ्यो।
