
जानकी खबर।
१३बैसाख,जनकपुरधाम।
जनकपुरधाम उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनबाट निर्वाचित हुने १२७ पदका लागि ५२९ जनाको उम्मेदवारी परेको छ ।
वैशाख ३० गते हुनेभएको स्थानीय तहको चुनावमा जनकपुरधामको नयाँ नेतृत्वका लागि नगरप्रमुखमा २६ र उपप्रमुखमा २५ जनाले मनोनयन दर्ता गराएका छन् भने वडाध्यक्षमा १७० जनाको उम्मेदवारी परेको छ।
त्यस्तै वडा सदस्यमा १७६, महिला सदस्यमा ७५ र दलित महिला सदस्यमा ५७ जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सत्तारूढ गठबन्धनका तर्फबाट मेयर पदका लागि पुनः लालकिशोर साहले उम्मेदवारी दिएका छन् भने लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट मेयरमा मनोज चौधरीले मनोनयन दर्ता गराएका छन् ।

नेकपा एमालेको तर्फबाट मेयरमा शिवशंकर साह (हीरा)को उम्मेदवारी परेको छ भने तराई मधेस लोकतान्त्रिक पार्टीबाट विभा ठाकुरले नगरप्रमुखका लागि उम्मेदवारी दर्ता गराएकी छन् ।
जनमत पार्टीबाट नगर प्रमुखमा अनिता देवी साहको उम्मेदवारी परेको छ ।
यसै क्रममा , नेपाल जनता पार्टीबाट मेयरमा मुरली मनोहर मिश्रले उम्मेदवारी दिएका छन् भने नेकपा मालेबाट गीता कुमारी मण्डलले उम्मेदवारी दिएकी हुन् ।
भर्खरै नेकपा एमालेमा प्रवेश गरेका जानकीराम साहले पनि एमाले परित्याग गरि मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् भने मेयर पदमै स्वतन्त्र तर्फ कांग्रेसबाट राजीनामा दिएका मनोज साह, बलराम महतो, वैद्यनाथ साह, श्याम किशोर मण्डल, लक्ष्मण साह, रामसेवक यादव, बिक्की यादव, अनिल पजियार, सुधिर कुमार महतोलगायत २६ जनाको स्वतन्त्र उम्मेदवारी परेको हो ।
उपमेयरमा सत्ता गठबन्धनबाट किशोरी साहले मनोनयन दर्ता गराएका छन् भने लोसपाबाट रिता कुमारी मिश्रले उम्मेदवारी दिएकी छन् । उपमेयरमै नेपाली कांग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेकी रुना झाले मनोनयन दर्ता गरेका हुन् ।
उपमेयरमा युवा नेता सरोज कुमार मिश्रले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् भने नेपाल जनता पार्टीबाट उपमेयरमा बन्दना पाण्डेयले उम्मेदवारी दिएका छन् । जनमत पार्टीबाट भने उपमेयरमा संतोष कुमार साहले मनोनयन दर्ता गराएका छन् ।
तराई मधेस लोकतान्त्रिक पार्टीबाट इश्वर पण्डितले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।
यसअघि नेकपा एमालेले मेयर पदको टिकट नदिँदा बागी बनेर उमेश चौधरी र कुमारी बनिता यादवले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराइसकेका छन् भने कांग्रेसले टिकट नदिँदा निर्मल कुमार चौधरीलगायत २५ जना उपमेयरको उम्मेदवार छन् ।
धनुषा जिल्लामा राष्ट्रिय मान्यताप्राप्त ३२ दलहरू दर्ता भएको छ भने ४ लाख ६७ हजार ३२८ जना मतदाता रहेका छन् ।
निर्वाचन आयोगले आइतबार र सोमबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको थियो ।
