नेपाल सरकार र डा. सिके राउत नेतृत्वको जनमत पार्टीबीचको भेटवार्ता सम्पन्न भएको छ । शुक्रबार गृह मन्त्रालयमा भएको भेटवार्तामा राउत नेतृत्वको संगठनसँग भएका सहमति कार्यान्वयनबारे छलफल भएको हो ।वार्तामा सरकारी टोलीको नेतृत्व गृहमन्त्री बालकृष्ण खाँण र जनमत पार्टीको नेतृत्व अध्यक्ष राउतले गरेका थिए ।वर्तामा जनमत पार्टीले आफूहरू स्थानीय तह निर्वाचन प्रयोजनार्थ निर्वाचन आयोगमा दल दर्ता गराएको र त्यसअघि आफूहरूसँग सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न माग गरेको छ । विभिन्न आरोपमा थुनामा पार्टीका नेता कार्यकतालाई रिहा गर्नु पर्ने, अभिव्यक्ति, स्वतन्त्रता र नागरिक हकको सम्मान हुनुपर्ने माग पनि पार्टीले राखेको छ ।त्यस्तै, जनमत पार्टीले आफूहरूले गरेको कृषि आन्दोलनका क्रममा पक्राउ परेका नेता कार्यकता रिहा र कृषिसम्बन्धी आफूहरूका माग प्रस्तुत गर्दै पूरा गर्न आग्रह गरेको छ । मधेस आन्दोलनका क्रममा भएको सहमति कार्यान्वयन हुनुपर्ने पनि उनीहरुले माग पार्टीको राखेका थिए ।सरकारका तर्फबाट गृहमन्त्री खाणले मूलधारको राजनीतिमा आएर निर्वाचन आयोगमा दल दर्ता गर्दै निर्वाचनमा जाने तयारी गर्नु स्वागतयोग्य काम भएको बताएका छन् । उनले जनमत पार्टीसँग पूर्ववर्ती सरकारले गरेको सहमतिबमोजिम कानुन अनुरुप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिन पहल गर्ने र कृषिसम्बन्धी मुद्दामा योजना आयोग र अर्थमन्त्रालयसँग छलफल गरेर आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्न पहल गर्ने पनि उनले बताएका थिए ।भेटमा गृहमन्त्री खाँण, गृहसचिव टेकनारायण पाण्डे, महान्यायाधिवक्ता खम्बबहादुर खाती र सहसचिव फणीन्द्रमणि पोखरेल तथा जनमत पार्टीको तर्फबाट अध्यक्ष राउत, उपाध्यक्षत्रय वसन्त कुशवाह, दीपक साह, नरेन्द्र साह र महासचिव चन्दन सिंहको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *