जानकी खबर ।
२३ कात्तिक, जनकपुरधाम ।

  छठको तेस्रो दिन आज (मंगलवार) बर्तालु ‘खरना’ विधिको तयारीमा जुटेका छन् ।

  बर्तालु महिलाहरुले पर्वको पहिलो दिन कात्तिक शुक्ल तृतीयामा ‘अरबा-अरबाइन’ र चौथीका दिन हिजो  ‘नहाय-खाय’ सम्पन्न गरेका थिए ।

त्यसतै  आज पञ्चमी तिथिका दिन उनीहरू ‘खरना’ को तयारीमा लागेका हुन् ।

आज बिहान स्नान गरी दिनभरि निराहार व्रत बसेर राति मिठा हालेर  पकाइएको खिर कूलदेवता र छठीदेवीलाई चढाई बर्तालुले त्यही खिर खाने गर्दछन् । यसै विधिलाई ‘खरना’ भनिएको हो ।

श्रद्धा, निष्ठा र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठपर्वको ‘खरना’का दिन दिनभर उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खिर पकाउने र त्यसलाई केराको पातमा राखेर छठी मातालाई चढाएर मात्र बर्तालु र परिवारका अन्य सदस्यले प्रसादका रूपमा खाने गर्छन् ।

पर्वको चौथो दिन भोलि बुधबार कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेका बर्तालुले जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिनेछन् र  सप्तमीका दिन बिहान बर्तालुले उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य दिएर पर्व समापन गर्ने प्रचलन छ ।

पर्व मा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्ठान्न इष्टजनलाई घरमै बोलाएर खुवाउने र  नातेदारकहाँ पुर्‍याउन जाने पनि परम्परा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *