जानकी खबर ।
२१ कात्तिक, जनकपुरधाम।
मिथिलामा विशेष रुपले मनाइने छठपर्वको तयारी सुरु भएको छ ।
छठ पूजाका सामग्री किनमेल गर्न जनकपुरधामसहित सम्पूर्ण तराई-मधेसका प्रमुख बजारमा स्रधालुहरुको निकै चहलपहल बढेको छ ।
लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवतरूपमा आरम्भ हुन्छ । यो पर्व मनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ ।
छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको निकै भीडभाड देखिएको छ ।

खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बोट पर्छन् । यो समय माटो तथा बाँसका सामग्री खरिद समेत गरिन्छ ।
अहिले छठपर्व मनाउनेहरू पोखरीको घाट र नदीतटको सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन् । घाटमा लाखौँ रकम खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका लागि काम पनि धमाधम भइरहेको छ । चौतर्फी छठका गीत गुन्ज्न थलेको छ।
जनकपुरधामको गङ्गा सागर, धनुष सागर, अग्निकुण्ड, अरगजा, दशरथ तलाउलगायतका पोखरीजस्ता स्थानमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष साजावट गर्न थालिएको छ । विभिन्न क्लब र संस्थाको युवाहरु पोखरीलाई सजाउन जुटेका छन् ।
छठ पूजाका लागि व्रतालुहरू राति पूजा स्थानमै बस्छन्।
बुधबार साँझ अस्ताउँदो सूर्यलाई र बिहीबार उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पुजा पूरा हुनेछ ।

