जानकी खबर ।
३ कार्तिक, जनकपुरधाम।

देशको विभिन्न स्थानमा भारी वर्षासँगै बाढीपहिरोमा परी १६ जनाको ज्यान गएको छ।
पहिरोले घर पुर्दा, घर भत्किँदा र बाढीले बगाएर १६ जनाको मृत्यु भएको संचार मध्यमहरुले जनाएका हुन्। बझाङमा पहिरोले घर पुरेपछि २३ जना बेपत्ता छन्। 
जनकपुरधामको विभिन्न स्थान जलमग्न भएकोले जनजिवन प्रभावित बनेको छ।
सुदूरपश्चिममा तीन दिन अविरल रुपमा आईरहेको वर्षाले ठूलो क्षति पुर्‍याएको छ। अविरल वर्षाका कारण पहाडी जिल्लामा आएको पहिरोमा कयौ घर बगेका छन् भने बाढी र पहिरोले सयौ परिवार विस्थापित भएका छन्।

सुदूरपश्चिमका ३ ठूला नदी कर्णाली, महाकाली र सेती नदीमा पानीको बहाव अत्यधिक बढेको छ। तराई जिल्लामा किसानहरुले भित्र्याउने तयारी गरेका धानहरु वर्षातका कारण पूर्ण क्षति भएको छ। अन्य स्थानहरु जस्तै जनकपुरधाम पनि जलमगन बनेको छ।

वर्षातले ठाउँ ठाउँमा पहिरो गएर सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने सबै राजमार्ग अवरुद्ध बनेका छन्। सुदूरपश्चिमको राजधानी धनगढी समेत डुबानले जलमग्न भएको छ।
वर्षाले जनजीवन पनि प्रभावित भएको छ। बाढीपहिरोका कारण विभिन्न बस्ती डुबान र जोखिममा परेका छन्। बाढीपहिरोका कारण विभिन्न स्थानमा यातायात र सञ्चार सेवा अवरुद्ध भएको खबर छ। बाढीपहिरोबाट सयौं परिवार विस्थापित भएका छन्।  

डोटी जिल्लाका विभिन्न स्थानमा अविरल वर्षापछि घर भत्किँदा आठजनाको मृत्यु भएको छ। जोरायल गाउँपालिका–४, सयगडामा मंगलबार दिउँसो दुई घर भत्किँदा पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। 

सयगडामा ४२ वर्षीय शेरबहादुर विकको घर भत्किँदा उनी, उनका १८ वर्षका छोरा मोहन, १२ वर्षकी छोरी पवित्राको मृत्यु भएको छ। मामाघर आएका १६ वर्षका रविन विकको पनि घरले च्याँपेर मृत्यु भएको छ। घटनाबारे पूर्ण विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रविन्द्र चन्दले जानकारी दिए। 

यसैगरी, सोही ठाउँमा पहिरोले घर पुर्दा ६२ वर्षका जोगी सार्कीको मृत्यु भएको जनाइएको छ। उनकी पत्नी घाइते भएकी छन्। त्यस्तै, मंगलबार दिउँसो पहिरोसँगै आएको ढुंगाले लागेर शिखर नगरपालिका–११ की ३६ वर्षीया एक महिलाको मृत्यु भएको छ। उनको उपचारका क्रममा दिपायलस्थित सुजंग अस्पतालमा मृत्यु भएको हो ।

अविरल वर्षाले भएको मानवीय तथा धनको क्षतिको पुर्ण बिवरण आउन बँकि नै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *