जानकी खबर ।
१५, असोज, जनकपुरधाम ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफूलाई बदनाम गर्न संघीयता विरोधी विभिन्न गिरोह लागिरहेको आरोप लगाएका छन् । संघीयता विरोधीले प्रदेश सरकारविरुद्ध षडयन्त्र गरिरहेको उनको आरोप छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित कार्यालयको टोलीले बुधबार दिउँसो मुख्यमन्त्री लालबाबु राउतको कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयागले उजुरीको आधारमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ कार्यक्रम अन्तर्गत साइकल खरिदमा अनियमितता भएको फाइल नियन्त्रण लिँदाको प्रक्रिया र प्रस्तुति गलत भएको उनको दाबी छ ।

कार्यालयमा छापा परेपछि पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री राउतले भने, ‘अख्तियारले छापा मारेको तरिका ठीक भएन। जुन हिसाबले अख्तियारले छापा मार्यो त्यो फट्याइँ हो। सहज तरिकाले आएर फाइल मागेको भए हामी दिन्थ्यौँ।’
मुख्यमन्त्री राउतले भने, “मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ कार्यक्रम मुलुककै गौरवको योजना हो । हामीले ई–बिडिङबाट विधि, प्रक्रिया र खरिद ऐनलाई टेकेर काम गरेका छौं । तर अख्यितारले जुन किसिमले मिडियाबाजी गरेर छापा मार्यो, त्यसले हामीलाई भ्रष्टाचारी भनेर बदनाम गर्ने दुस्प्रयास गरिएको छ ।”
अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईलाई फोनमा आफूले नधम्काएको पनि उनले बताए । उनले थपे, “मुख्यमन्त्री कार्यालयको छानबिन गर्दा मलाई कुनै आपत्ति छैन । दोषी छ भने कारबाही गरे पनि हुन्छ । तर नाटकीय रुपमा भएको मिडियाबाजीका विषयमा अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईसँग मैले फोन गरेर शैली गलत भएको बताएँ, उहाँले पनि स्वीकार गर्नुभयो । अख्यितार भनेको पनि आकाशबाट, इन्द्रलोक, चन्द्रलोक या अर्को संसारबाट आएको त होइन नि ?”

उनले भने, “म विगतदेखि नै संघीयतालाई बलियो बनाउन लागेको व्यक्ति हुँ । भ्रष्टाचार विरुद्ध पनि लडिरहेका व्यक्ति हुँ । त्यस्तो व्यक्तिलाई भ्रष्ट भन्ने ? त्यो खरिद प्रक्रियामा त हामीले साढे ३ करोड रुपियाँ बँचाएका हौं ।”
मुख्यमन्त्री राउतले आफूले त्यस प्रकरणमा राजीनामा नदिने पनि बताए । उनले भने, “म छानबिनमा सहयोग गर्न तयार छु । यो छापामारी प्रक्रिया र नाटकीय प्रस्तुति मात्र हो । कसैले भ्रष्ट भन्दैमा मैले किन छाड्ने ? कसैले आरोप लगायो भन्दैमा छाड्नुपर्छ र ?” भन्दै उहाँले प्रश्न गर्नु भयो ।
उनले प्रदेश सरकार सुशासन र संघीयताको लागि आफैँ प्रतिवद्ध रहेको बताए। प्रदेश सरकारलाई बदनाम गर्न पत्र पत्रिकामा अनियमितताबारे भ्रामक समाचार प्रकाशित भएको राउतको दाबी थियो।
उनले समाचार प्रकाशित भएको केही घण्टामै अख्तियारको टोली छापामार शैलीमा आएको बताए।
‘मानौं यो प्रदेश सरकारको सर्वोच्च निकाय मुख्यमन्त्रीको कार्यालय, जो आफैँ शुसानको लागि, सुशासन कायम गर्नको लागि प्रतिवद्ध छ, जो आफैँ शुसान कायम गर्नको लागि प्रदेश जनलोकपाल ल्याएको छ। त्यो संस्था, त्यो संस्थाको गरिमा कसरी कायम हुन सक्छ, त्यसलाई कायम गर्नको लागि आफैँ प्रतिवद्ध रहेको अवस्थामा यो तरिका, जुन आउने छापामार शैलीमा। मानौं की त्यहाँका यस्ता प्रमाणहरु चाहिँ लोप भइराखेको छ, त्यसलाई चाहिँ कसैले एकदमै नास गर्न लागिरहेछ। त्यस शैलीमा आउँछन् र यहाँ आएर चाहीँ आफ्नो छापामार शैलीमा आफ्नो प्रस्तुती गर्छन्।
बुधवार दिउँसो बर्दिबासको अख्तियारको कार्यालयबाट एउटा टोली जनकपुरधामस्थित मुख्यमन्त्रीको कार्यालयमा पुगेको थियो।
‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तरगत वितरण गरिने साइकल किन्दा अनियमितता भएको उजुरी परेपछि छापा मारेको अख्तियारको भनाइ छ।
प्रदेश सरकारले सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्राहरूलाई वितरण गर्न ती साइकलहरू खरिद गरेको थियो।
६ जनाको अख्तियारको टोलीले प्रदेश-२ मा सञ्चालित सबैभन्दा बढी चर्चा पाएको एउटा सरकारी योजनामा अनियमितताको शङ्का गर्दै अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मारेर साइकल खरिदसम्बन्धी फाइलहरू नियन्त्रणमा लिन साढे तीन घण्टा लगाएको थियो।
कागजात नियन्त्रणमा लिएपछि अख्तियारको टोलीले कुनै प्रतिक्रिया दिएन।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आर्थिक अनियमितताको छानबिनका लागि प्रदेश २ का मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाको संयोजकत्वमा मुख्यमन्त्री लालबाबु राउतले तीन सदस्यीय छानबिन समिति गत साउन २९ गते गठन गरेका थिए।

