जानकी खबर । वैशाख ३०,२०७८                               जनकपुरधाम - धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले कोरोना संक्रमण दर कम गर्न तथा यसको चेनलाई ब्रेक गर्न निषेधाज्ञा लगाइए पनि संक्रमण तथा मृत्यु दरमा सुधार नआएकोले धनुषामा जेठ १० गतेसम्मका लागि निषेधाज्ञाको समय बढाइएको जनाएको छ ।
 जिल्ला प्रशासन कार्यालय धनुषाले वैशाख १९ गतेदेखि लगाएको निषेधाज्ञा शुक्रबार सकिँदै थियो । तर बिहीबार नै अवधि बढाउने निर्णय भएको हो ।




जिल्ला संकट व्यवस्थापन समिति धनुषाको बैठकले अस्पतालहरुमा अक्सिजनको माग अत्यधिक बढेकोले  १२५ थान अक्सिजन सिलिन्डर उपलब्ध गराउनलाई जिल्ला प्रशासन कार्यालय सर्लाहीसँग अनुरोध गर्ने निर्णय भएको प्रमुख बास्तोलाले जानकारी दिनुभयो ।
 बैठकबाट निषेधाज्ञा कार्यान्वयनका लागि खटाइएको सुरक्षाकर्मीहरुको इन्धन तथा सुरक्षा उपकरण बापत ७ लाख रुपैयाँ विनियोजन गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
 जिल्लामा एम्बुलेन्स पर्याप्त भए पनि कोरोना बिरामीलाई नलगेको भन्ने जनगुनासोप्रति ध्यानाकर्षण भएको जनाउँदै उनले एम्बुलेन्स सञ्चालकहरुलाई कडाई गर्ने निर्णय भएको जानकारी दिए ।
 अस्पतालमा शय्या र उपचार सामग्री अभावमा धनुषामा हालसम्म २५ जनाको मृत्यु भएको छ ।
 जिल्ला प्रशासन कार्यालय धनुषाले वैशाख १९ गतेदेखि जारी निषेधाज्ञाको समयावधि सम्पन्न हुन अगावै बिहीबार पुनः थप गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *