जानकी खबर ।११भदौ ,जनकपुरधाम ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जसपा विभाजन नभई शुद्धिकरण भएको बताउनु भएको छ ।
पार्टीले शुक्रबार जनकपुरधाममा आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा सम्बोधन गर्नु हुँदै अध्यक्ष यादवले केही व्यक्ति पार्टी छोडदैमा विभाजन भएको भन्न नमिल्ने दावी गर्नु भयो । उहाँले लोभी पापीहरुको झुण्ड गए पछि बरु जसपा शुद्धिकरण भएको तर्क दिनु भयो ।
पार्टीको निर्णय नमान्ने, आफैले गरेको सहमति तोडने, स्वविवेकले निर्णय गर्न नसक्नेहरुको झुण्डले देश र मधेशको भलो गर्न नसक्ने तर्क गर्नु हुँदै अध्यक्ष यादवले ८० प्रतिशत नेता कार्यकर्ता जसपामै रहेको उल्लेख गर्नु भयो ।
अध्यक्ष यादवले आन्दोलनबाट प्राप्त उपलब्धीहरुलाई समाप्त गर्दै मुलुकमा प्रतिगमन लाद्न चाहने केपी ओलीको मतियार बनेकाहरु बाट जनताले हिसाव लिने बताउनु भयो ।
संविधानमा रहेका सकारात्मक पक्षहरुको रक्षा गर्दै संविधान संशोधन मार्फत नाकारात्मक पक्षलाई विस्थापन गर्नु नै जसपाको मुल कार्यभार रहेको उल्लेख गर्नु हँुुुुुुुुुुुुुुुुदै अध्यक्ष यादवले त्यसका निमित्त मधेशी, आदिवासी , जनजाति, दलित महिला, मुश्लिम लगायतका शोषित वर्ग जसपाको झण्डामुनी गोलबद्ध हुने विश्वास व्यक्त गर्नु भयो ।
जसपानै समाजवादको केन्द्र रहेको उल्लेख गर्नु हुँदै अध्यक्ष यादव भन्नु भयो ,‘ समाजवादी भनेर कसैले नाम , नीति वा एजेण्डा बोके पनि समाजवादको केन्द्र जसपा नै हो ।’
अध्यक्ष यादवले केही व्यक्ति पार्टी छोडदैमा जसपा विभाजन नहुने बताउदै लोभी पापीहरुको झुण्ड गए पछि जसपा शुद्धिकरण भएको दावी गरे ।
कार्यक्रममा बरिष्ठ नेता अशोक राइले मुलुकको पुरानो पार्टीहरु समतामुलक समाज निर्माणको कार्यदिशाबाट भागेका कारण जसपाको जन्म भएको उल्लेख गर्नु भयो ।
मुलुकमा समाजिक आर्थिक मात्र नभई कानूनी विभेद समेत कायम रहेकाले जसपा ती सबै विभेद अन्त गर्दै समतामुलक समाज निर्माणमा अग्रसर भएको उहाँको तर्क थियो ।
छाता लिएर आएकाहरु वर्षातको मौसममा छाता समेत छोडेर गएको भन्दै कटाक्ष गर्दै बरिष्ठ नेता राईले भन्नु भयो ,‘ उहाँहरु प्रति दया लागि रहेको छ । प्रतिगमको मतियार बन्नु पर्ने के बाध्यता थियो र ?’
मधेश प्रदेश समितिका अध्यक्ष विजय कुमार यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कार्यकारिणी समिति सदस्य महेन्द्र राय यादव, रेणु यादव, प्रदेश २का मुख्यमन्त्री लालबाबु राउत, राम नरेश राय, नवल किशोर साह, गजाधर यादव, मनिष सुमन , जनकपुर उपमहानगरका प्रमुख लालकिशोर साह सहितका वक्ताहरुले मन्तव्य राख्नु भएको थियो ।
पार्टी सुदृढिकरण, संगडन विस्तार एवं जागरण अभियान अन्तर्गत आयोजित कार्यक्रममा सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका अगुवा कार्यकर्ताहरुको उपस्थिति थियो ।








