जानकी खबर ।५भदौ,महोत्तरी ।
महोत्तरीको भंगाहा नगरपालिका वडा ६ स्थित हतिसर्वामा विद्यालय बनाउने नाममा व्यपक अनियमितता भएको स्थनियले आरोप लगाएका छन् ।
गाउँमा विद्यालय बनाउने नाममा व्यापक अनियमितता भएको भन्दै उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता गराएका छन् ।
उपभोक्ता समिति, वडा अध्यक्ष र नगरप्रमुखको मिलोमतोमा विद्यालयको ६० प्रतिशत काम नसकिँदै नगरपालिकाबाट १६ लाख भुक्तानी भएको नेकपा माओवादी केन्द्र भंगहा नगरपालिका नगर कमिटी सचिव अशोक कुमार यादवले अाराेप लगाए ।
भंगाह नगरपालिका वडा नं. ६ स्थित लक्ष्मी माध्यामिक विद्यालयको २ कोठे ट्रस्ट बनाउन आर्थिक बर्ष २०७७/७८ मा नगरपालिकाबाट १६ लाख चालिस हजार रुपैयाँ छुट्याइएको यादवले बताए।
सचिव अशोक यादवले गत असारमा काम सकिनुपर्ने भएपनि अहिलेसम्म ६० प्रतिशत काम पनि नसकिएको र रकम भने असारमा नै भुक्तानी गरेको उनको भनाइ छ ।
महेन्द्रनगरका व्यापार संघ अध्यक्ष तथा केन्द्रीय तरुण विभागका सदस्य सुरेश यादवले विद्यालयको काम नसकिदै नगरपालिकाबाट त्यत्रो रकम कसरी भुक्तानी भयो भन्ने जवाफ माग्दा उपभोक्ता समिति र जनप्रतिनिधिबाट कुनै उत्तर आएन पछि हामीले सत्यतथ्य छानबिनको लागी अख्तियारमा मुद्दा दर्ता गराएको उनलेे बताए ।
काम सकेर सम्पुर्ण कागजात बुझाएपछि मात्र पैसा भुक्तानी गर्नुपर्ने मापदण्ड भएपनि किर्ते कागज बनाएर रकम भुक्तानी गरेको यादवको भनाइ छ ।
उपभोक्ता समितिवाट काम गर्नुपर्नेमा नगरप्रमुख संजिव साहले आफूखुसी अर्कैलाई ठेक्का दिएको तर रकम भुक्तानी भने उपभोक्ता समिति मार्फत गराएको पाइएको छ ।
नेकपा जिल्ला कमिटी सदस्य राजनारायण सिहंले काम नै नसकी बिना अनुगमन रकम भुक्तानी दिने प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीतर्फ पनि प्रश्न उठाएका छन् ।
नेकपा माओवादी केन्द्र नगर कमिटी सदस्य सुदिप सिहंले काम नै नसकी विद्यालय बनाउने नाममा व्यापक अनियमितता गरेको उनलेे बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्थानीयले नगरप्रमुख संजिव साह, वडा अध्यक्ष चौथी महतो, प्रमुख प्रशासकीय अधिकृत धमाृनन्द जोशी र उपभोक्ता समितिका पदाधिकारीहरुमाथि छानबिन गर्न माग गर्दै निवेदन दिएका हुन् ।
वडा अध्यक्ष चौथी महतो, प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशी, नगरप्रमुख संजिव साह, उपभोक्ता समितिका अध्यक्ष बिनोद यादव, कोषाध्यक्ष सुमित्रादेवी र सचिव उपि मियाले १६ लाख रुपैयाँ हिनामिना गरेको स्थनियबासीको आरोप छ ।





