जानकी खबर ।
२ भदौ, काठमाडौं ।
अफगानिस्तान कब्जा गरेपछि तालिबानले आफूहरुविरुद्ध लडेका सबैलाई आम माफी दिइएको जनाएको छ ।
तालिबानका प्रवक्तले पहिलोपटक पत्रकार सम्मेलन गर्दै कसैप्रति भेदभाव नगरिने भन्दै तालिबानले महिलाहरु काँधमा काँध मिलाएर काम गर्ने जनाएको छ ।
काबुलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले विदेशीलाई निकालेर २० वर्षपछि देशलाई मुक्त गरेको बताए । यसलाई उनले गौरवको क्षण भनेका छन्।
शरिया कानुन अनुसार महिलाहरुको हक तय गर्न आफूहरु प्रतिबद्ध रहेको उनले बताए । उनले भने, महिलाहरु हामीसँग काँधमा काँध मिलाएर काम गर्नेछन् ।
हामी अन्तर्राष्ट्रिय समुदायलाई भरोसा दिलाउन चाहन्छौं कि उनीहरुसँग कुनै भेदभाव गरिने छैन ।’
महिला अधिकारको बारेमा उठिरहेको प्रश्नको बारेमा उनले भने, ‘हामी महिलाहरुलाई आफ्नो व्यवस्थामित्र रहेर काम गर्ने र पढ्ने अनुमति दिनेछौं ।
महिलाहरु हाम्रो समाज र हाम्रो ढाँचाभित्र रहेर निकै सक्रिय हुनेवाला छन् ।’
धार्मिक मान्यता अनुसार काम गर्ने अधिकार आफूहरुलाई भएको बताउँदै प्रवक्ता जबिहुल्लाहले भने, ‘अरु देशका अलग-अलग दृष्टिकोण, नियम र कानुन भएजस्तै हामी अफगानी नागरिकलाई हाम्रो नियम, कानुन तय गर्ने अधिकार छ ।
अफगानिस्तान अब संघर्षको मैदान नबन्ने बताउँदै जबिहुल्लाहले भने, ‘हामी अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त पार्न चाहन्छौं कि कसैलाई क्षति हुन दिने छैनौं ।
हामी अन्तर्राष्ट्रिय समुदायसँग कुनै उल्झन चाहँदैनौं ।’
तालिबानविरुद्ध लडेका सबैलाई माफ गरिदिएको बताउँदै उनले अब दुश्मनी समाप्त भएको बताए । ‘हामी अब देशभित्र वा बाहिर कुनै दुश्मन चाहँदैनौं ।
काबुलमा अब अराजकता देख्नु छैन,’ उनले भने, ‘अफगानिस्तानमा स्थिरता या शान्तिका लागि सबैलाई माफी गरिदिएका छौं ।
हामी हाम्रा लडाकु तथा अन्य सबै मिलेर हाम्रो साथमा अन्य सबै गुट र पक्षलाई ल्याउने छौं ।’
विदेशी सुरक्षा बलसँग रहेर काम गरेका ठेकेदार र अनुवादकको बारेमा सोधिएको एक प्रश्नमा उनले भने, ‘हामीले कसैसँग बदला लिंदैनौं ।’ उनले अगाडि भने, ‘जो युवा अफगानिस्तानमा हुर्किए, पढे, हामी चाहँदैनौं कि उनीहरु यहाँबाट जाउन् । उनीहरु हाम्रा सम्पति हुन् ।
कसैले पनि उनीहरुको ढोका ढक्ढकाउने छैन र उनीहरुले कसका लागि काम गरिरहेका छन् भनेर सोध्ने छैन । यस्ता व्यक्तिहरु हाम्रो शासनकालमा सुरक्षित रहनेछन् । कसैसँग सोधपुछ गर्ने वा उनीहरुको पिछा गर्ने काम हुने छैन ।’





