जानकी खबर ।                                                           वैशाख २९,२०७८                                                                           जनकपुरधाम  -   बुधबार धनुषामा वर्षा हुँदै छ ।  जल तथा  विज्ञान विभागले यस वर्ष जेठ १८ देखि असोज १४ सम्मलाई मनसुन अवधि मानेको छ ।
 मनसुन अवधिमा नेपालका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको छ । 
 
विभागका अनुसार मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र वाग्मती प्रदेशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने देखिन्छ ।
 
 यस्तै, प्रदेश १ का मध्य तथा हिमाली भागमा पनि सरदरभन्दा बढी (३५–६५ प्रतिशत) वर्षा हुने आकलन गरिएको छ ।
 
 लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशको तराई र प्रदेश २ को पश्चिम भूभागमा भने सरदर (३५–४५ प्रतिशत) र प्रदेश १ को तराई र प्रदेश २ का पूर्वी जिल्लाहरूमा सरदरभन्दा कम (३५–४५ प्रतिशत) वर्षा हुनेछ ।          
सुदूरउत्तरपश्चिमी र उत्तरपूर्वी भागका धेरै भूभागमा सरदरभन्दा कम वर्षा हुने विशेषज्ञहरूको विश्लेषण छ ।
विभागले विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानी प्रारूप आकलन, मनसुनी वर्षा आकलन गर्ने प्रारूप र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको आकलनका आधारमा मनसुन प्रक्षेपण गरेको हो ।
 वैशाख १५ मा भर्चुअल माध्यमबाट भएको दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (सास्कोफ) को १९औं सत्रले दक्षिण एसियाका धेरै भूभागमा आगामी मनसुन अवधिमा साधारणतया सरदरभन्दा बढी वर्षा हुने आकलन गरेको छ ।
 मञ्चमा नेपाल, भारत, म्यानमारलगायत दक्षिण एसियाली ९ वटा मुलुकका मौसमविद् र विश्व मौसम संगठन (डब्लूएमओ), डब्लूएमओको क्षेत्रीय जलवायु केन्द्र, पुने भारत, युके मेट अफिस, राइम्स, थाइल्यान्ड, अमेरिका, जापानलगायत देशका प्रतिनिधि हुन्छन् ।
 विशेषज्ञहरूले दक्षिण एसियाका उत्तर पश्चिमी, हिमालयका काख र उत्तरपूर्वी भेगमा केही भूभाग र मध्य भागका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरेका छन् ।
सरदर वर्षा भन्नाले कुनै पनि मौसम मापन केन्द्रको लामो समय (सन् १९८१–२०१०) को ३३.३ देखि ६६.६ प्रतिशत वर्षालाई जनाउँछ । सरदरभन्दा कम र बढी वर्षा भन्नाले क्रमश: ३३.३ प्रतिशतभन्दा कम र ६६.६ प्रतिशतभन्दा बढीको वर्षालाई जनाउँछ ।                                                                                                                                                                  गत वर्ष विभागले नेपालभर सरदर वर्षा हुने आकलन गरे पनि असमान वर्षा भएको थियो । यद्यपि त्यसले पहिरोजन्य क्षति भने अत्यधिक निम्त्याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *