जानकी खबर ।३२ साउन, काठमाडौं ।
सरकारले प्रदेश २ को प्रदेश प्रमुख परिर्वतन गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजेश झा अहिराजलाई पदमुक्त गर्दै हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको हो ।
अहिराजलाई अघिल्लो सरकारले ७ फागुन २०७७ मा प्रदेश प्रमुख नियुक्त गरेको थियो ।
नयाँ प्रमुखमा सिफारिस भएका महोत्तरीका मिश्र कांग्रेसका पुराना नेता हुन् ।
महोत्तरीको पिपरा गाउँपालिका स्थायी घर भएका उनी नेपाली काँग्रेसका नेता स्वर्गीय रामनारायण मिश्रका छोरा हुन् । मिश्र नेपाली काँग्रेसबाट सांसदमा समेत निर्वाचित भएका थिए । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले तिलक परियारलाई बर्खास्त गरेर राजेश झा अहिराजलाई प्रदेश प्रमुखमा नियूक्त गरेको थियो । देउवा नेतृत्वमा सरकार गठन भएपछि अहिराजलाई पनि हटाएर मिश्रलाई नियुक्तिको सिफारिस भएको हो ।
२०१५ सालमा बीपी कोइराला नेतृत्वको सरकार हुँदा स्वर्गीय रामनारायण मिश्र उद्योग मन्त्री रहेका थिए ।
प्रदेश प्रमुख राजेश झा अहिराजले नवनियूक्त प्रदेश प्रमुख मिश्रलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आफूलाई प्रदेश प्रमुखको रुपमा काम गर्ने अवसर दिएकोमा सरकार लागायत प्रदेशको सम्पुर्ण जन्तालाई धन्यवाद दिदै आभर ब्यक्त गर्नुभएको छ ।









