जानकी खबर ।३० साउन, काठमाडौं ।
सरकारले जारी गरेको निषेधाज्ञाका कारण करिब-करिब साढे तीन महीनादेखि बन्द रहेको नारायणहिटी दरबार यतिबेला सुनसान छ । बन्द अवस्थामा संग्रहालयका कर्मचारीहरु आन्तरिक साजसज्जा र बन्द कोठा खोल्ने तयारीमा व्यस्त छन् ।
अहिले दरबारभित्रको रंगरोगन सकिएको छ । बाहिरको फोहोरा बगैँचाको साजसज्जाको काम चलिरहेको नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिए ।
यही काम चलिरहेकै बेलामा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले नारायणहिटी दरबार संग्रहालयको अवलोकन भ्रमण गर्ने कार्यतालिका रहेको जानकारी संग्रहालयका अधिकारीहरुलाई आयो ।
राष्ट्रपतिको यो भ्रमण औपचारिक थिएन । अनौपचारिक रुपमा नारायणहिटी दरबारको अहिलेको अवस्थाको अवलोकन गर्न राष्ट्रपति आएकी थिइन् ।




