जानकी खबर ।२८ साउन,बुटवल ।
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनियताको सपथ लिएका छन्।

केसीले लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन्।

उनीसँगै गठबन्धन दलका अन्य ६ मन्त्रीले समेत पद तथा गोपनीयताको सपथ लिएका छन्।

नेपाली कांग्रेसका डिल्ली चौधरीले ग्रामिण तथा शहरी विकास मन्त्री, जनता समाजवादी पार्टीका सहसराम यादवले भौतिक पूर्वाधार विकास मन्त्री, माओवादीका कृष्णध्वज खड्का आन्तरिक मामिला तथा योजना मन्त्री तथा अन्यले विना विभागीय मन्त्रीका रुपमा सपथ लिएका हुन्।

जसपाका पूर्मती ढेंगा र सुमन शर्माले विना विभागीय मन्त्रीको रुपमा सपथ लिएका हुन्।

यसैगरी, नवलपरासीबाट सूर्य चिन्हमा चुनाव जितेका अजय शाहीले समेत विना विभागीय मन्त्रीको रुपमा सपथ लिएका छन्।

शाहीलाई नेकपा (एमाले)ले पार्टीको नीति विपरित गएको भन्दै कारबाही गर्ने जनाएको छ।
प्रदेशमा जसपाका ३ जना सांसद नै मन्त्री बन्ने भएका छन्।

प्रदेशसभाका ४ दलबीचको गठबन्धनका तर्फबाट प्रदेश प्रमुखसामु पेश भएको दाबीअनुसार केसी मुख्यमन्त्री नियुक्त भएका हुन्।

प्रदेश प्रमुख शेरचनले नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता कुलप्रसाद केसीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्।

प्रदेश प्रमुख अमिक शेरचनले बुधवार २४ घण्टाको समय दिएर सरकारका लागि दाबी गर्न आह्वान गरेका थिए।

सोही अनुसार ४१ सांसद रहेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकारका लागि दाबी पेश गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *