जानकी खबर ।२५ साउन, काठमाडौं । लुम्बिनी प्रदेशसभा सांसद पद गुमाएका तीन पूर्वसांसदले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
जनता समाजवादी पार्टीबाट निष्कासनमा परेपछि सांसद पद गुमाएसँगै पार्टी र प्रदेशसभा सचिवालयको निर्णय विरुद्ध विजयबहादुर यादव, सन्तोषकुमार पाण्डेय र कल्पना पाण्डेय सर्वोच्च गएका थिए । तर सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले उनीहरुको माग अनुसार सांसद पद थमौतीका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
सर्वोच्चले विपक्षीसँग लिखित जवाफ माग गरेको छ भने अन्तरिम आदेशका लागि छलफल गर्न भदौ ८ गते दुवै पक्षलाई बोलाएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।
पार्टीको निर्णयविपरीत सरकारमा सहभागी भएको भन्दै जनता समाजवादी पार्टीले उनीहरुलाई कारबाही गरेको थियो । यसअघि पनि जनता समाजवादी पार्टीले उनीहरुलाई निष्कासन गरे पनि सर्वोच्च अदालतले तत्काल सांसद पदबाट नहटाउन अन्तरिम आदेश दिएपछि उनीहरुको सांसद पद कायम रहेको थियो ।





