जानकी खबर ।२३ साउन, जनकपुरधाम ।
जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूहका नेताहरुले जनकपुरधाममा कार्यकर्ता भेला गरेका छन् ।
पार्टी (जसपा) को आधिकारिकता नपाएपछि महन्थ ठाकुर समूहका नेताहरू मधेश झरेका छन् ।
ठाकुरसहित नेताहरू राजेन्द्र महतो, शरदसिंह भण्डारीसहितका नेताहरुले शनिबार जनकपुरधाममा धनुषा जिल्ला स्तरीय कार्यकर्ता भेला गरेका हुन् ।
कार्यकर्ता भेलामा नेताहरुले उपेन्द्र यादवले पार्टी एकता भत्काएर मधेशी नेताको भावनामाथि कुठाराघात गरेको आरोप लगाएका छन् ।
नेता महन्थ ठाकुरले उपेन्द्र यादवले पार्टी कमजोर बनाएको बताए । यादव भुलभुलैयामा पारेर पार्टीलाई कमजोर बनाएको उनको भनाइ थियो ।
पार्टी एकता गर्ने समयमा तत्कालिन राजपा र समाजवादीबीच आधा आधा भागबण्डा हुने सम्झौता भएपनि उपेन्द्रले जालझेल गरेको उनले बताए ।
ठाकुरले केपी शर्मा ओली, बाबुराम भट्टराई, प्रचण्ड र शेरबहादुर देउवा सहितका नेताहरु मधेश मुद्दाप्रति गम्भीर नभएको समेत बताए ।
कार्यक्रममा नेता राजेन्द्र महतोले उपेन्द्र यादवले पार्टी एकता भत्काएर मधेस र मधेसी जनताको भावनामाथि ठूलो कुठाराघात गरेको बताए ।
एकता भत्काएको भन्दै उनले यादवलाई अपराधीको संज्ञा दिए ।
मधेशी जनताले सधैं एकता चाहेको बताउँदै महतोले भने, ‘तर जनताको भावना र आत्मसम्मानमा चोट पुगाउने काम गरिएको छ ।’
शरतसिंह भण्डारीले मधेशी जनताको भावनालाई कदर गरेर पार्टी एकीकरण गरिएपनि त्यसलाई टिक्न नदिनु दुःखद भएको बताए ।
कार्यक्रममा नेताहरु उमाशंकर अरगरिया, परमेश्वर साह, सरिता साहलगायत पनि सहभागी थिए ।
महन्थ ठाकुरसहतिका नेताहरुले शुक्रबार प्रदेश २ को सप्तरी, सिरहा, महोत्तरी र बारामा कार्यकर्ता भेला गरेका थिए ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष जिल्ला दौडाहामा लागेका छन् ।
जिल्ला–जिल्ला पुगेर अर्का अध्यक्ष उपेन्द्र यादवको भण्डाफोर गर्ने कार्यक्रम ठाकुर–महतो पक्षको छ ।
सो पक्षले शुक्रवार एकैदिन मधेसका ४ जिल्लामा विस्तारित बैठक समेत गर्यो । जहाँ ठाकुर–महतो पक्षका शीर्ष नेताले सम्बोधन गरेका थिए ।
निर्वाचन आयोगबाट अध्यक्ष यादव पक्षले आधिकारिकता पाएपछि ठाकुर–महतो पक्ष संगठन निर्माणका साथै यादवको अवसरवादी चरित्र भण्डाफोर गर्न भन्दै जिल्ला दौडाहामा लागेका हुन् ।
जसपा कार्यकारिणी समिति सदस्य केशव झाका अनुसार सिरहा, सप्तरी, बारा र महोत्तरीमा एकै दिन विस्तारित बैठक सम्पन्न भएको छ ।
बारामा जसपा नेता लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल, बाबुलाल साह र रमेश पटेलले सम्बोधन गरेका थिए ।
सिरहामा अनिल झा, सप्तरीमा वरिष्ठ नेता महतो, केशव झा, बृषेशचन्द्र लाल र राजिव झा, डा. सुरेन्द्र झा, उमाशंकर अरगरिया र जयनुल राईन तथा महोत्तरीमा अध्यक्ष ठाकुर, शरतसिंह भण्डारी र निर्जला राउतले विशेष सम्बोधन गरेका छन् ।
सिरहा, सप्तरी, बारा र महोत्तरीको कार्यक्रम सम्पन्न भएसँगै शीर्ष नेता मधेशका अन्य जिल्लामा विस्तारित बैठक, विशेष सम्बोधनसहित संगठन निर्माण गर्दै अघि बढ्ने कार्यक्रम रहेको झाले जानकारी दिए ।
ठाकुर समूहले शुक्रबादेखि भदौ नौ गते बुधबारसम्म मुलुकभर अगुवा कार्यकता भेला गर्ने एक अपील जारी गर्दै भेलामा सहभागी हुन सबैमा आग्रह गरेका गरेक थिए ।
अपीलसँगै सार्वजनिक अगुवा कार्यकता भेलाको तालिका अनुसार शुक्रबार सप्तरी, सिरहा, महोत्तरी, बारा र दाङमा कार्यक्रम त्यस्तै शनिबार झापा, मोरङ, धनुषा, पर्सा र कैलालीमा, २४ साउनमा सुनसरी, सर्लाही, रौतहट, रुपन्देही, कपिलवस्तु र कञ्चनपुरमा, २५ साउनमा नवलपरासीर बर्दियामा, २६ साउनमा बाँकेमा २७ साउनमा सुदूरपश्चिम प्रदेश अत्तरियामा, ३० साउनमा बागमती प्रदेश काठमाडौँमा कार्यक्रम हुनेछ ।
त्यस्तै तीन भदौमा इटहरीमा, ५ भदौमा पोखरामा, ७ भदौमा बुटवलमा र ९ भदौमा सुर्खेतमा कार्यक्रम गर्ने तालिका सो समूहले सार्वजनिक गरेको छ ।
तालिकासँगै सार्वजनिक अपीलमा पार्टी विभाजनसम्म भएका क्रियाकलापबारे प्रष्ट्याउन खोजिएको छ ।
सत्ता समीकरणबारे विवाद भएपछि हेड काउन्टका आधारमा नर्विाचनआयोगले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव समूहलाई आधिकारिकता दिएपछि ठाकुर समूहले देशव्यापी कार्यक्रमको तालिका सार्वजनिक गरेको थियो ।














