जानकी खबर । २१ साउन ,जनकपुरधाम ।
प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादवले मन्त्रालयबीच समन्वय नहुदा जनताले अझै विकासको अनुभुति गर्न नसकेको बताएका छन् ।

भौतिक पुर्वाधार विकास मन्त्रालयले बुधवार विहान जनकपुरमा आयोजना गरेको वार्षिक समिक्षा तथा प्रदेश मन्त्रालय विकास समस्या समाधान समितिको वैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो धारणा व्यक्त गरेका हुन् । प्रदेश सरकार गठन भएको झण्डै ४ वर्ष हुन पुगेको छ, मन्त्री यादवले भने,‘ नसोचेपनि अन्तिम समयमा आफुहरुपनि यो सरकारको हिस्सा बन्न पुगे । तर प्रदेश सरकारको यतिको वर्ष भईसक्दापनि आमजनताले विकासको अनुभुमित गर्न सकेको छैन ।’ प्रदेश सरकार अन्तर्गत रहेका मन्त्रालयबीच समन्वयको अभावमा विकास निर्माण प्रभावित हुदै आएको मन्त्री यादवको भनाई थियो । मन्त्रालयहरु बीच समन्वय नहुँदा साना तथा खुद्रा किसिमको कार्यक्रमले ठोस प्रतिफल दिन नसकेको भन्दै मन्त्री यादवले भने,‘ यो विषयमा छिट्टै नै प्रदेशको मन्त्रीपरिषदमा छलफलको लागि प्रस्ताव राख्छौ ।’ मन्त्री यादवले प्रदेशको योजनाको निर्माण आवश्यकता तथा प्राथमिकताको आधारमा हुनु पर्नेमा जोड दिँदै राम्रो काम गर्नेलाई पुरस्कार तथा नराम्रो काम गर्नेलाई दण्डको नीति लिनुपर्ने बताए । विकासका लागि प्रतिबद्धता, इमानदारिता तथा नैतिकता आवश्यक रहेको बताउदै मन्त्री यादवले भने,‘ प्रदेशलाई नम्बर १ बनाउन यहाँकै कर्मचारीहरुको पनि जिम्मेवारी हो । विकास निर्माणको कुनै पनि काममा समस्या भए खुलेर सचिव वा मलाई जानकारी गराउनुस्, त्यसलाई तत्काल सम्बोधन गर्न हाम्रो प्रयास हुन्छ । तर आफै समस्या बनेर समस्यालाई झन बल्झाउने काम कदापि नगर्नु होला ।’ प्रदेश २ को नीति तथा योजना आयोगका उपाध्यक्ष डा।भोगेन्द्र झाले योजना निर्माण तथा कार्यान्वयन अर्थशास्त्रको सिद्धान्त अनुसार प्रदेश सरकारका सबै मन्त्रालयहरूले काम गर्नु पर्नेमा जोड दिए । अर्थशास्त्रको सिद्धान्त अनुसार योजनाको निर्माण तथा कार्यान्वयन भएको खण्डमा विकास प्रतिको जनअपेक्षा पुरा गर्न सकिने डा। झाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *