जानकी खबर ।१५ साउन,काठमाडौं l
मैले ५५ वर्षदेखि नजिकबाट चिन्दै आएको हाम्रो पार्टीका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई शुभकामना दिन चाहन्छु । शुभकामनाका साथ केही संशय पनि छन्, त्यसलाई पनि व्यक्त गर्न चाहन्छु ।
मभन्दा अगाडि एकजना प्रतिभाशाली र प्रतिवद्ध माननीयज्यू (भीम रावल)ले एउटा सम्झौतालाई केन्द्रमा राखेर अत्यन्त गम्भीर वक्तव्य दिनुभयो । वक्तव्यमा उहाँले व्यक्त गर्नुभएको मनसायबारे अहिले प्वाक्क बोल्ने पक्षमा छैन । तर एउटा सानो कुरा म उक्त माननीयज्यू र संसदमा रहनुभएका यावत व्यक्ति र शक्ति, सांसद र दलहरूलाई सम्झना गर्न चाहन्छु ।
उक्त सन्धिको प्रयास संयुक्त राज्य अमेरिकाबाट भइरहेको छ । यस्तो कुनै प्रयास कुनै दिन हिन्दुस्तानबाट पनि आउला वा आइसकेको होला । चीनबाट आउला, आइसकेको होला । युरोपियन युनियन एउटा शक्तिको रुपमा अगाडि बढिरहेको छ । त्यहाँबाट पनि आउला ।
नेपाल एउटा सानो देश छ । भूगोलका हिसाबले सानो छैन । त्यता नजानुहोला । भारत र चीनको छेउमा परेर हामी सानो देखिन्छौं । विश्वका राष्ट्रहरूको तुलनामा आफूलाई हेर्नु भयो भने हामी मनग्य ठूला छौं । संशाधनले हामी रहित छौं । गरिब छौं । तर हामी दरिद्र छैनौं । मानसिकता मात्रै गरिब छ । हामीसँग अक्षय, अमूल्य र अद्भुत प्राकृतिक स्रोतहरू हाम्रा नदीनालादेखि पर्वतराज हिमालयसम्मका असीमित संशाधन छन्, हामीले च्याउन पनि भ्याएका छैनौं । हामीलाई त विदेशी डलरको मात्रै भोक छ ।
यो ठूलो सांस्कृतिक विषय छ । राजनीतिक विषय मात्र छैन । म त्यता मलाई आज समय छैन । अहिले म मात्र के भन्न चाहन्छु भने- भारत, चीन, संयुक्त राज्य अमेरिका, अर्को शक्तिका रुपमा आकांक्षी अनेकानेक राष्ट्रहरू, युरोपियन युनियनदेखि जापानसम्म । ती देशमा विदेश नीतिका शिलशिलामा यत्रो ज्यादा तथ्यहिन र उग्र मतभेद हुन्छ ? सानो प्रश्न छ मेरो ।
चाहे अमेरिका हेर्नुहोस्, भारत हेर्नुहोस् वा चीन हेर्नुस् । ठीक छ, बेठीक छ, उनीहरूको आफ्नै दृष्टिकोण छ नेपालप्रति आफ्नो दृष्टिकोण छ । त्यो ठीक छ कि बेठीक छ भन्दिनँ । ज्यादा बेठीक नै होला । बेठीक किन छ भने हामी नेपाली ले आज राजनीतिक दलको यत्रो दबदबामा चकचकीमा देशमा लोकतन्त्र होइन, ज्यादा दलतन्त्र चलिरहेको बेलामा पछिल्लो सर्वोच्च अदालत अपवादको रुपमा आएको छ ।
यो दलतन्त्रका माझमा हाम्रा सरोकारवाला दलहरू किन साझा विदेश नीति बनाउन सक्दैनन् ? पूर्ववक्ता माननीय (भीव रावल)ले यस्तै सारगर्भित कुरा भन्नुभए पनि यो सम्झना राख्न जरूरी छ- जबसम्म मुलुकका सरोकारवालाहरू मुलुकका सबै दलहरू साझा विदेश नीतिका प्रति प्रतिवद्ध हुँदैनन् ? हामीहरूमध्ये प्रत्येकले एकअर्कालाई तल देखाएर, ऊचा देखाएर मुखको तितो मात्रै पोख्छौं ।
अहिले खास सन्धिका बारे म टिप्पणी गर्न चाहन्न । हामी आत्मनिर्भर बन्दा विदेशी सहायताबिना पनि बन्न सक्छौं । हामीले हाम्रा देशका संशाधनलाई माल पाएर चाल नपाएको शैलीमा अगाडि बढाइरहेका छौं । कोही अपवाद छैन । कुनै मन्त्री अपवाद छैनन् । कुनै प्रधानमन्त्री अपवाद छैनन् । उनीहरूले आफ्नो आत्माभित्र चिहाएका छैनन् । मुलुकभित्र हेरेका छैनन् । बाहिर, बाहिर र बाहिर मात्र हेरिरहेका छन् । लिने कुरोमा पनि, दिने कुरामा पनि ।
म आज यो विषयका लागि उभिएको थिइनँ । बडो विचारोत्तेजक ढंगबाट जिम्मेदार नेकपा एमालेका मित्रले यो कुरा भन्नुभएपछि मलाई यति कुरा व्यक्त गर्न मन लाग्यो । लामो समयदेखि बारम्बार विभिन्न मञ्चबाट भनिराखेको छु- पहिला हामी साझा दृष्टिकोण बनाऔं- भारत, चीन, अमेरिकाप्रति । अनि कुन सन्धि खारेज गर्ने, कुन नगर्ने, कुन राख्ने नराख्ने गर्नुपर्छ । यो राष्ट्रिय नीतिको प्रश्न हो ।
म उभिएको मूल कारण प्रधानमन्त्री शेरबहादुरलाई शुभकामना र बधाई पनि दिन । सँगसँगै उहाँलाई सम्झना पनि गराउन । दोस्रो जनआन्दोलनको उपलब्धि, दोस्रो आन्दोलनको जनादेशका बेलामा हाम्रा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँको नेतृत्वमा नै ०६४ को अन्तरिम संविधान बन्यो । त्यस अन्तरिम संविधानका वाहक, परिचालक, संवाहक को को थिए त ? सबै ती अनुहार मोटामोटी रुपमा अहिलेको सरकारमा सहभागी छ ।
दीर्घकालीन सशस्त्र जनसंघर्ष थाल्नुभएर अन्ततः १२ बुँदे सम्झौतामा पुग्नुभएका नेकपा माओवादीका नेता, सभामुख समेत त्यसको नेतृत्वमा हुनुहुन्थ्यो । मधेश आन्दोलनका नाममा अन्तरिम संविधानलाई चुनौती दिने अर्का नेता, एमाले पनि सहयात्री थियो, एमालेको त्यो समयको नेतृत्व कदाचित् अहिले पनि कार्यकर्ता पंक्तिमा टाउको गन्दा सांसदभन्दा बढी हैसियत राख्ने वर्तमान यस गठबन्धनका सहयोगी पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल सबै यहाँ छौं । सँगसँगै दलको तानाशाहीभन्दा माथि उठेर विवेक प्रयोग गर्ने कति स्वतन्त्र सांसद पनि यहाँ रहेको उहाँ ले बताए ।
डेस्क








