जानकी खबर ।१५ साउन, जनकपुरधाम ।
जिल्ला प्रहरी कार्यालय धनुषाको शौचालयमा थुनुवा झुण्डिएर मृत भेटिएको घटनाको विरोधमा सिनुरजोडा गाउँका अस्थानीयले प्रशासनविरुद्ध प्रदर्शन गारेको छ ।
लक्ष्मिनिया गाउँपालिका वडा २ स्थित सिनुरजोडा गाउँ निवासी ४० वर्षीय पल्टुरवि दास शुक्रबार बिहान ४ बजेतिर प्रहरी कार्यालयभित्रको शौचालयको भेन्टिलेसनमा आफ्नै गञ्जीको पासो बनाइ झुण्डिएको अवस्थामा भेटिएका थिए । सोही घटनाको विरोधमा मृतकका परिवार र स्थानीयले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
अस्थानीयले मृत्यु घटना आत्महत्या नभई हत्या भएको आरोप लगाउँदै आन्दोलन गरेका छन् ।उनीहरुले घटनाको सूक्ष्म छानबिन र पीडितसँग न्याय हुनुपर्ने माग गरेका छ्न् ।
दास मृत भेटिएपछि राष्ट्रिय मानवअधिकार आयोगको टोलीसमेत प्रहरी कार्यालय पुगेको थियोे ।
आयोगकी अधिकृत मनमाया मगरले प्रहरी कार्यालयभित्र मृत्यु हुनु दुःखद रहेको भन्दै सूक्ष्म अनुसन्धान हुनुपर्ने बताईन ।
शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको हो।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटले बताए ।
आफ्नै भाइ विल्टुरवि दाससँग घरायसी विवादमा ज्यान मार्ने उद्योग र अंगभंग मुद्दामा धनुषा जिल्ला अदालतले उहाँ सँग दुई लाख धरौटी माग गरेको थियो । आर्थिक विपन्नताका कारण पल्टुरवि दासले रकम तिर्न नसकेपछि अदालतले कारागार कार्यालय सिन्धुली पठाउन आदेश दिएको थियो ।

