जानकी खबर ।१३ साउन, काठमाडौं ।


जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा पठाउने मन्त्रीबारे निर्णय लिन तीन नेतालाई प्रस्ताव गरेको छ।  बुधबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा अधिकांश सदस्यले मन्त्रीको नाम टुंग्याउने जिम्मेवारी संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई दिने प्रस्ताव गरेका हुन्।

सरकारमा जानेको नाम टुंग्याउने जिम्मेवारी तीन नेतालाई दिने विषयमा बैठकमा छलफल भएको कार्यकारिणी सदस्य नवराज सुवेदीले जानकी खबरलाई बताए। ‘मन्त्रीमा कसलाई पठाउने भन्नेबारे निर्णय लिने अधिकार तीन नेतालाई दिनेबारे बैठकमा छलफल भएको छ,’ सुवेदीले भने, ‘यसबारे आजको बैठकमा निर्णय भएको छैन। भोलिको बैठकले यसलाई औपचारिकता दिन्छ।’

तीन नेताबाहेक अन्य पनि उक्त समितिमा थपिन सक्ने कार्यकारिणी सदस्य गंगा श्रेष्ठले बताए। ‘बैठकले तीन नेताको नाम प्रस्ताव गरेको छ,’ उनले भने, ‘अन्य नेताहरू पनि थपिन सक्नुहुन्छ।’ बैठकमा सरकारमा कसरी र कुन मन्त्रालय लिएर सहभागी हुने भन्नेबारे छलफल भए पनि पठाउने व्यक्तिबारे छलफल नभएको प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिए। बैठकमा नेताहरुले मन्त्री छान्दा समावेशी सिद्धान्तलाई ख्याल गर्नुपर्ने बताएका छन् । बैठक भोलि पुन: ११ बजे बस्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *