जानकी खबर वैशाख २५ ,२०७८ काठमाडौं – केपी शर्मा ओलीले ‘विश्वासको मत’ लिने मिति वैशाख २७ गते नजिकिँदै गर्दा प्रधानमन्त्री ओली तथा विपक्षी नेताहरूले राजनीतिक गतिविधि तीव्र पारेका छन्। प्रधानमन्त्री ओलीले शनिबार मन्त्रिपरिषद् बैठक बोलाएका छन् भने नेपाली कांग्रेसले संसदीय दलको बैठक राख्दैछ। मन्त्रिपषिदको नियमति बैठक सोमबार र बिहीबार बस्ने गरेको भए पनि प्रधानमन्त्री ओलीले आजै साँझ आकस्मिक बैठक राख्ने भएका हुन्। प्रधानमन्त्री ओलीले साँझ ५ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाएको छ । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज दिउँसो २ बजे बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतमा असफल पार्ने तयारीमा रहेको कांग्रेसले त्यसपछिको अवस्थामा कसरी वैकल्पिक सरकार बनाउने भन्ने विषयमा छलफल गर्न लागेको हो। वैकल्पिक सरकारका लागि प्रधानमन्त्रीको नाम प्रस्ताव गर्नुपर्ने भएकोले कांग्रेसको संसदीय दलको बैठकबाट यसबारे निर्णय हुने सम्भावना छ। हिजो कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच यस विषयमा छलफल भएको थियो। उता एमालेका नेता भीम रावलले पनि हिजै देउवासँग छलफल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *