जानकी खबर ।

२३ वैशाख, काठमाडौं । बिहिबार निधन भएका वरिष्ठ गायक प्रेमध्वज प्रधानको पार्थिव शरीरको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । सिमित ब्यक्तिको उपस्थितिमा गायक प्रधानको अन्त्येष्टी गरिएको हो । प्रधानको अन्त्येष्टिका लागि उनका आफन्तसहित शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, संगीतकार शम्भुजीत बासकोटा, टीका भण्डारीलगायत पशुपति आर्यघाट पुगेका थिए ।
सुगम संगीतका एक धरोहर बरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधान अब हामीमाझ रहेनन् । तिमीलाई अचेल कहाँ देखुँ, घुम्तीमा नआउ है…जस्ता कैयौं कालजायी गीतका गायक प्रधानको ८५ वर्षको उमेरमा बिहिबार दिउँसो पौने दुई बजे उपचारको क्रममा निधन भएको भयो । काठमाडौंको बागबजार निवासी गायक प्रधानलाई १२ दिन अघिबाटै स्वास प्रश्वासमा समस्या देखिएको थियो । त्यसपछिबाट सुन्धार स्थित काठमाडौं न्युरो जनरल अस्पतालमा भर्ना भएका उनको त्यहाँ उपचार भईरहेको थियो । उपचारकै क्रममा स्वास प्रश्वास सम्बन्धि समस्याबाट गायक प्रधानको निधन भएको उनको जेठान मञ्जुकुमार श्रेष्ठले जानकारी गराए ।

गायक प्रधानलाई कोरोना भएको शंका गरिए पनि उनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनका दुई छोरा अमेरिकामा छन् । बिहिबारबाटै अन्तराष्र्टिय विमान उडान नेपालमा बन्द भएका कारण छोराहरु उनको अन्त्यष्टीमा आउन सकेनन् ।

अग्रज गायक प्रधानको बिहिबार साँझ पशुपति आर्यघाटमा श्रद्धाञ्जाली कार्यक्रम राखिएको थियो । विभिन्न संगीतकर्मीहरुले आर्यघाट पुगेर गायक प्रधानको पार्थिव शरीरमा फुलमाला चढाई श्रद्धासुमन अर्पण गरे । उनको बिहिबार साँझ आर्यघाटमा दाह संस्कार गरियो । दिवँगत गायक प्रधानको परिवारमा श्रीमती र दुई छोरा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *