जानकी खबर ।८ साउन, जनकपुरधाम ।
दक्षिणपूर्वी एसियामा कोरोनाको संक्रमण निकै तीव्र गतिमा फैलिएर मृत्युदर धेरै उच्च भइसकेको छ ।
गत मे महिनामा भारतका घाटहरुमा लाशहरु जलाएको तस्वीर भाइरल भएको थियो । उक्त तस्वीरले भारतमा कोरोनाले भयानक रुप लिएको स्पष्ट देखिन्थ्यो । तर, भारतले भोगेको उक्त अवस्था दक्षिणपूर्वी एसियामा सरेको छ । पछिल्लो दुई सातामा भारतमा कोरोनाको दोस्रो लहर उच्च विन्दुको तुलनामा दक्षिणपूर्वी एसियामा कोरोनाको मृत्युदर धेरै भइसकेको छ ।
दक्षिणपूर्वी एसियामा डेल्टा भेरियन्टको कारण निकै तीव्र गतिमा संक्रमण फैलिरहेको छ । यो क्षेत्रमा नयाँ संक्रमितको संख्या अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । जसको कारण यी क्षेत्रका मुलुकको स्वास्थ्य प्रणालीले धान्न नसक्ने अवस्था आएको छ । यो क्षेत्रका केही मुलुकले कोरोना नियन्त्रणको लागि तोकिएको मापदण्डहरु पनि पालना गराउन सकेका छैनन् ।





