जानकी खबर ।८ साउन,महोत्तरी
नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधीले शेरबहादुर देउवा नेतृत्वको सरकार कसैले ढाल्न नसक्ने बताएका छन् ।

महोत्तरीको जलेश्वरमा काँग्रेस जिल्ला पार्टी कार्यालयको उद्घाटन र महेश्वर प्रसाद सिंहको शालिक अनावरणगर्दै उपसभापति निधीले भने, ‘अब माओवादी र जसपाले समर्थन फिर्ता लिएपनि सरकार ढल्दैन । बरु चुनाव हुन्छ ।’ उनले विश्वासको मत लिएको २ वर्षसम्म अविश्वासको प्रस्ताव समेत दर्ता गराउन नमिल्ने भएकाले सरकार ढेड वर्ष नै टिक्ने कार्यकर्तालाई आश्वासन दिए । उपसभापति निधीले नेपाली काँग्रेसलाई प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा निर्वाचित गराउन १४ औं महाधिवेशनबाट सभापति बन्न चाहेको बताए । उनले नेपाली काँग्रेसले धेरै ठाउँमा चुनाव हारेकै कारण दुष्परिणाम भोगिरहेको औल्याए । ‘ अर्कै अर्कै पार्टी जितेकै कारण देशभर हरेक क्षेत्रमा भाँडभैलो मच्चिएको छ ’ उनले भने, त्यसकारण कुनै पनि क्षेत्रको विकास भइरहेको छैन ।’ नेपाली काँग्रेस परिवर्तन, प्रणाली र संविधानका पक्षमा सधैं दृढता पूर्वक उभिने पनि उनले बताए । ‘संविधानको संरक्षण काँग्रेसले गर्छ’, उनले भने, ‘किनकी काँग्रेसले संविधान बनाएको छ । त्यसैले अहिलेका सबै प्रणाली काँग्रेसकै कारण सम्भव भएको छ ।’ क्षेत्रवादी, राजावादी र कम्यूनिष्टहरुले संविधान बनाउनै चाहेका थिएन, यद्यपी काँग्रेस संघीय लोकतान्त्रिक संविधान बनाउन सफल भयो– उनले थपे । उनले अगामी निर्वाचनमा हरेक क्षेत्रमा काँग्रेसलाई जिताउने बातावरण निर्माण गर्न नेता कार्यकर्तालाई निर्देशन समेत दिए । उनले भने, ‘काँग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको छ । देशलाई काँग्रेसले मात्र समृद्ध बनाउन सक्छ । त्यसैले अहिलेदेखि नै काँग्रेसको पक्षमा माहोल बनाउनुस् ।’ उनले कम्यूनिष्टहरुले देशलाई बिगारेको आरोप लगाए ।

बर्दिबासबाट जलेश्वर पुग्ने क्रममा उपसभापति निधीलाई ठाउँ ठाउँमा भव्य स्वागत गरिएको थियो । गाडीबाट हात हल्लाउँदै उनी अगाडी बढिरहँदा फुलमालाले स्वागत गर्ने कार्यकर्ताको लर्को देखियो । उनको स्वागतका लागि सयौं सवारी साधन बर्दिबाससम्म पुगेका कारण केहिबेर त राजमार्ग नै अवरुद्ध बनेको थियो । उपसभापति निधि काँग्रेस सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।निर्वाचनमा जित्ने रणनीति बनाउन सकृय नेता निधि महोत्तरी जिल्लामा शक्ति प्रदर्शनगर्दै चुनावमा लागेको संकेतपनि दिएका छन् । तर उनकै गृह जिल्ला धनुषाको काग्रेस कार्यालयमा क्रियासिल सदस्यतामा धाँधली भएको आरोप लगाउँदै युवा नेताहरुले रिले अनशन थालेका छन् ।धनुषाका नेताहरुले केन्द्रिय कार्यालयमा आमरण अनशन बसेका छन् ।नेता निधिले प्रदेश २ मा संगठन बिगारेको आरोप लगाउँदै काँग्रेसका सांसद रहेका सर्लाही जिल्लाका युवा नेता अमरेश कुमार सिंहले सभापति देउवालाई राजिनामादिदै क्रियासिल सदस्यता वितरणमा भएको धाँधलीलाई सच्चयाउन माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *