जानकी खबर ।३ साउन,जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन्।
उहाँको पक्षमा १६५ मत परेको छ ।
विश्वासको मत पाएसँगै देउवाले अब यो प्रतिनिधिसभाको पूरा कार्यकाल सरकार चलाउने भएको छ ।
यो सँगै सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधिसभा (संसद) जोगिएको हो ।
आइतवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा देउवाले संसदमा रहेका कूल सांसद संख्याको १६५ मत पाएको सभामुख अग्नी सापकोटाले घोषाणा गरेका छन् ।
२९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले पुनर्स्थापित संसदको पहिलो बैठकमै आज विश्वासको मत लिएका हुन् ।
देउवाले संसदमा १६५ विश्वासको मत पाएका छन् र उहाँको विश्वासको विपक्षमा ८३ जना सांसदले मतदान गरेका छन् भने एकजना तटस्थ बसेका छन् ।
देउवालाई नेपाली कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादव, महन्त ठाकुर पक्ष, राष्ट्रिय जनमोर्चा र एमालेका माधवकुमार नेपाल पक्ष र ओलि पक्षका सांसदले विश्वासको मत दिएका छन् ।
सभामुख सापकोटाले प्रधानमन्त्री देउवाले बहुमत विश्वासको मत पाएको घोषाणा गरेका छन् ।
२७२ सांसद रहेको प्रतिनिधिसभामा बहुमतका लागि मात्र १ सय ३६ मत चाहिन्छ ।
विश्वासको मत पाएसँगै प्रधानमन्त्री देउवाले अब बाँकी अवधीको पूरै कार्यकाल चलाउन पाउने भएका छन् ।
आज प्रतिनिधि सभामा दुई सय ४९ जना सांसद उपस्थित थिए।
सर्वोच्चले संविधानको धारा ७६ को ५ बमोजिम प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियामा दलीय ह्वीप नलाग्ने व्याख्या गरेको थियो।
ओली पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने निर्णय गरेको भएपनि फ्लोर क्रस गर्दै उनीहरुले देउवाको पक्षमा मतदान गरेका हुन् ।
यसैगरी माधव नेपाल पक्षका केही सांसद्हरु भने संसद् बैठक चल्दाचल्दै बाहिरिएका भएपनि केही सांसदले भने विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गरेका थिए ।
प्रधानमन्त्री देउवाले राखेको विश्वासको मतको प्रस्तावमा आज अबेर भएको मतदानमा पक्षमा १६५ मत परेको हो ।यो संख्या प्रतिनिधसभाको कुल सदस्य संख्याको ६० प्रतिशत हो ।
सभामुख अग्निप्रसाद सापकोटाले मतदानमा सहभागी २४९ जनामध्ये विश्वासको मतको प्रस्तावको पक्षमा १६५ मत, विपक्षमा ८३ मत र तटस्थ १ परेको घोषणा गरेका थिए ।
अब प्रतिनिधिसभाको कार्यकाल करिब डेढ वर्ष बाँकी रहेको छ।
देउवालाई मत दिने एमालेका २२ सांसद–
माधवकुमार नेपाल
विरोध खतिवडा
जीवनराम श्रेष्ठ
कल्याणी खड्का
मेटमणि चौधरी
भवानी खापुङ
मुकुन्द न्यौपाने
पार्वती विशुंखे
हिरा केसी
कृष्णकुमार श्रेष्ठ किसान
गोपाल बम
प्रेमबहादुर आले
धनबहादुर बुढा
विना बुढाथोकी
सरला यादव
पुष्पाकुमारी कर्ण
लक्ष्मी चौधरी
निरादेवी जैरु
रामकुमारी झाँक्री
कलिला खातुन
सविना हुसेन
कृष्णलाल महर्जन








