जानकी खबर ।२ साउन, जनकपुरधाम ।
जनकपुरधाम । प्रदेश २ को मन्त्रिपरिषद् विस्तार आज शनिबार हुँदै छ । मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् ।
नेकपा (माओवादी केन्द्र) पनि सरकारमा सहभागी हुने भएपछि मुख्यमन्त्री राउत मन्त्रिपरिषद् विस्तार गर्न लागेको हो।
माओवादीले सरकारमा सहभागी हुने मन्त्री चयन गरिसकेको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले संसदीय दलका नेता भरत साहलाई मन्त्रीमा र रुबी कर्णलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरिसकेको छ ।
महोत्तरी क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित साह र सप्तरीकी समानुपातिक सांसद कर्णले शनिबार शपथ लिने माओवादी केन्द्र संसदीय दलका सचेतक दिलीपकुमार साहले जानकारी दिए ।
प्रदेश २ सरकारमा नेपाली कांग्रेस यसअघि नै सहभागी भैसकेको छ । उपेन्द्र यादव समूहले महन्थ ठाकुर समूहका मन्त्रीलाई हटाएर कांग्रेसलाई तीन मन्त्रालय दिएर जेठ २६ गते सरकारमा ल्याएको हो ।




