जानकी खबर ।३०असार ,काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी एमालेमा देखिएको विवादका कारण नेपाली राजनीतिमा नयाँ तरंग आएको छ ।
एमाले विवादकै कारण दुई तिहाइको कम्युनिस्ट सरकार ढलेको छ ।
एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले पुनस्र्थापना गरेपछि ३ साउनभित्र प्रतिनिधिसभाको अधिवेशन बोलाइँदै छ । यतिमात्र होइन, सर्वोच्च अदालतले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश जारी गरेपछि उनी प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन् ।
संवैधानिक प्रावधानअनुसार अब प्रधानमन्त्री देउवाले २७ साउनभित्र संसदमा विश्वासको मत लिनु पर्ने हुन्छ । देउवालाई विश्वासको मत पाउनका लागि संसदमा माधवकुमार नेपाल पक्षका नेताहरुले पनि मतदान गर्नु पर्ने हुन्छ । अन्यथा उनले विश्वासको मत पाउने छैनन् । उनले विश्वासको मत नपाएको खण्डमा फेरि प्रतिनिधिसभा विघटन हुनेछ र देशमा मध्यावधि निर्वाचन हुनेछ ।
पदभार सम्हालेको दोस्रो दिन नै देउवा अब संसदमा आफूले विश्वासको मत पुर्याउन लाग्न थालेका छन् ।
यसैको नतिजा हो, बुधबार देउवा कोटेश्वर पुगेर नेकपा एमालेका नेता माधवकुमार नेपाललाई भेट्नु ।
बुधबार जब देउवा नेपाल भेट्न कोटेश्वर पुगेका थिए, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट बालकोट पुगिसकेका थिए । उनी बालकोट पुगेर जे अभिव्यक्ति दिएका छन्, त्यसले एमालेमा नयाँ तरंग ल्याएको छ ।
‘अब माधवकुमार नेपाल एमालेमा आउने कल्पना पनि गर्न सकिँदैन, उनका लागि एमालेमा ठाउँ छैन,’ बालकोटमा ओलीले यसो भनिरहँदा एमालेका नेपाल पक्षका नेताहरु आन्तरिक छलफलमा थिए ।
उनीहरुको यो छलफल नसकिँदै बुधबार नै देउवा कोटेश्वर पुगेका हुन् ।
यसअघि देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरेका सबैले विश्वासको मत दिँदा देउवाले विश्वासको मत पाउने छन् र प्रतिनिधिसभाको बाँकी अवधि उनले सरकार चलाउनेछन् ।



