जानकी खबर । असार२९,जनकपुरधाम ।

रहस्यमय तरिकाले हत्या गरिएको महोत्तरीको भ्रमरपुराकी सुजिता ठाकुरको हत्यामा संलग्न चारजनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

लोहारपट्टी नगरपालिका ७ भ्रमरपुराकी २७ वर्षीया सुजिता ठाकुरको हत्यामा संलग्न चारजनालाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीले सुजिताको हत्या तथा शव लुकाउनेमा संलग्न देवर रुपेश सहित चारजनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा लोहारपट्टी नगरपालिका ७ भ्रमरपुराका पतिराम ठाकुरका छोरा २९ वर्षीय रुपेश ठाकुर, रामचन्द्र मण्डलका छोरा बर्ष ३७ का बण्ठा भन्ने किशोरी मण्डल, हकिम कवारीका छोरा बर्ष ३३ का मुल्ला भन्ने आदम राईन, रामचन्द्र मण्डलका छोरा बर्ष ३२ का नथुनि मण्डल रहेको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

रुपेश सुजिताकी देवर हुन् । सुजिताको हत्यामा देवर रुपेशको मात्र संलग्नता देखिएको डीएसपी विष्टले बताए । अन्य तीनजनाको शव स्थानान्तरण गरी लुकाउनेमा संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुजिताको हत्या जेठ २० गते बिहान ८(९ बजेको बिचमा नै देवर रुपेशले गरेको अनुसन्धानबाट खुलेको छ । देवर रुपेशले सुजिताको कोठा भित्र घित्रोमा मुक्का प्रहार गरी कोठाको भित्तामा टाउको ठोकाई घाटी समेत थिची हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको डीएसपी विष्टले बताए ।

सुजिताको हत्या पश्चात दिनभरी शवलाई सुजिताकै सुत्ने पलङमा छोपेर कोठा बाहिरबाट ताल्चा लगाई राखेको थियो । राति साढे ८ देखि ९ बजेको बिचमा आफ्नै ट्याक्टरमा सुजिताको शव राखेर घरदेखि करिब १ किलोमिटर दक्षिणमा रहेको आफ्नै खेतमा खाल्टो खनि गाडेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । शव गाडेको भोलिपल्ट सा ठाउँमा पानी भरी ट्याक्टरले सम्याइ धानको बिउ छरेको थियो ।

अरुले थाहा पाउने देखेपछि जेठ २९ गते मध्यराती पुनः शव खनेर निकाली घरबाट ५ सयमिटर पूर्वतर्फको निर्माणाधिन पेट्रोलपम्पसंग जोडिएको आफ्नै चिरान मिलको गोदामको जग्गाको उत्तरतर्फको भागमा निर्माणाधिन सेफ्टि ट्याङकीमा ४ फिट गहिरो खाल्डो खनि शव पुन गाडेको थियो । शव गाडेर माथिबाट ६ ईन्च मोटो सिमेन्ट बालुवाले ढलान गरी माथिल्लो भागमा काठको गोलियाहरु राखेको थियो । पहिले शव गाठेको स्थानमा भोलीपल्ट पुनः खाल्टो वरिपरिको भागमा पानी भरी ट्याक्टरले सम्याइ धानको बिउ छरेको थियो ।

जेठ २० गतेदेखि बेपत्ता भएकी सुजिताको शवको अवशेष असार १३ गते खेतमा खाल्डो खनेपछि फेला परेको थियो । खोजविनको क्रममा निर्माणाधिन पेट्रोल पम्पको छेउमा शौचालयको सेफ्टी ट्यांकीमा शव सँडेको अवस्थामा फेला परेको थियो । शवको प्रादेशिक अस्पताल जनकपुरमा पोस्टमार्टम गरि परिवारजनले बुझि अन्त्येष्टि गरेका छन् ।

सो घटनाका अन्य आरोपित सुजिताका ससुरा, सासु र देवरानी भने फरार छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार घर परिवारका सदस्यहरु मिलेर सुजिताका हत्या गरेका थिए भने शव ओसारपसारमा अरु संलग्न थिए ।
हत्याको एक महिनापछि प्रहरीले आइतबार सुजिताको शव सोही ठाउँको पेट्रोल पम्पको छेउमा रहेको शौचालयको टयाङ्कीबाट बरामद गरेको थियो । प्रहरीले हत्याको मुख्य कारण दाइजो तथा पारिवारिक कलह रहेको जानकारी दिनुहुँदै अन्य कुराहरुको थप अनुसन्धान भइरहेको जनाएको छ ।

सुजिताकी श्रीमान ३१ वर्षीय मुकेश ठाकुरको घटनामा कुनै संलग्नता नदेखिएपछि उनलाई छाडिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *