जानकी खबर ।२९ असार, काठमाडौं ।
निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टेलिभिजनमा सम्बोधन गर्दै सर्वोच्च अदालतले संविधान संशोधन गरेको दाबीगर्नुभएको छ ।

सिंहदरबार छाड्नुअघि देशको नाउँमा सम्बोधन गर्दै ओलीले मंगलवार सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाएका छन् ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्नुका साथै १४९ सांसदको समर्थन जुटाएका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको भोलिपल्ट ओलीले फैसलाको आलोचना गरे । सिंहदरबार छाड्नुअघि टेलिभिजन सम्बोधन गर्दै ओलीले सर्वोच्च अदालतले संविधान संशोधन गरेको दाबी गरे ।

सर्वोच्चको फैसलाले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको सन्तुलन भंग भएको भएको उनको दाबी छ । ‘यसले क्षणिक रुपमा कसैलाई हर्षित तुल्याउला । कसैभित्र विजेताको भाव पनि ल्याउला’ उनले भनेका छन्, ‘तर लोकतन्त्रको मूल्यमा प्राप्त विजय क्षणभंगुर र अर्थहीन हुन जानेछ ।’

२०५२ मा पनि अदालतले राजनीतिलाई ट्र्याकभन्दा बाहिर लैजाँदा गम्भीर दुष्परिणाम ल्याएको भन्दै उनले संविधानको धारा ७६(५) मा दलीय ह्वीप नलाग्ने फैसलाको चर्को आलोचना गरे ।

पार्टीको चुनाव चिन्ह र घोषणा पत्रका आधारमा जनताबाट चुनिएर आउने, तर सरकार बनाउन बेलामा जो कसैलाई समर्थन गर्न सक्छन्, जुनसुकै ठाउँमा भोट हाल्न सक्छन्, ह्वीप लाग्दैन भन्नो ब्याख्याले दलीय व्यवस्थालाई नै चुनौती दिएको उनले बताए ।

एमाले अध्यक्ष समेत रहेका ओलीले भने, ‘निश्चित व्यक्तिका निश्चित आकांक्षा परिपूर्तिका लागि संविधानको अपव्याख्याले वस्तुत संविधान संशोधनको काम गरेको छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा अत्यधिक न्यायिक सक्रियता देखिएको भन्दै उनले यसले देशलाई गन्तव्यमा नपुर्‍याउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *