जानकी खबर ।२६ असार, काठमाडौं ।
नेकपा एमालेको कार्यदलको बैठक आज पनि बस्दैछ ।
विवाद समाधानका लागि गठित नेकपा एमालेको कार्यदलको शनिबार दिउँसो साढे २ बजे सिंहदरबारमा बैठक बस्ने नेताहरुले बताएका छन् ।

बैठकमा एमालेको पार्टी कमिटी जेठ २ मा फर्काउने, संसद विघटनको रिटबाट एमाले सांसदले हस्ताक्षर फिर्ता लिने, शक्ति सन्तुलन आदि विषय रहेका छन् ।

माधवकुमार नेपाल पक्षले २३ फागुनयता गरिएका सबै निर्णय खारेज हुनुपर्ने अडान राखेको छ । यसबीचमा अध्यक्ष ओलीले महाधिवेशनको मिति तोक्ने, महाधिवेशन तालिकासमेत सार्वजनिक गरिसकेका छन्, त्यसैले यो विषयमा अध्यक्ष केपी शर्मा ओली सहमत नभएको कार्यदलका एक नेताले बताए ।

त्यस्तै नेकपा एमालेमा माओवादी केन्द्रबाट आएका रामबहादुर थापासहति २३ जनालाई अध्यक्ष ओलीले केन्द्रीय सदस्य मनोनीत गरेका थिए । एमाले र माओवादी केन्द्र एकीकरण हुँदा केन्द्रीय सदस्य मनोनीत भएकाहरुलाई पनि एमालेमा केन्द्रीय सदस्य मनोनीत गर्ने तयारी भइरहँदा माधवकुमार नेपाल समूहले पनि शक्ति सन्तुलनका लागि आफूपक्षबाट पनि केन्द्रीय सदस्य मनोनीत हुनुपर्ने माग राखेका छन् । यो विषयमा कार्यदलमा लगभग सहमति छ ।

प्रतिनिधिसिभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दिएको रिटबाट एमाले सांसदले हस्ताक्षर फिर्ता लिने विषयमा भने दुई पक्षमा सहमति भएको छैन । माधवकुमार नेपाल पक्षले हस्ताक्षर फिर्ता नलिने अडान राखेको छ, बरु अदालतको फैसला आएपछि साझा धारणा बनाउने गरी सहमति खोज्नुपर्ने उनीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *