जानकी खबर ।२३ असार, जनकपुरधाम।
स्वास्थ्य मन्त्रालयले कोभिड–१९ प्रतिकार्यका लागि देशभर जनस्वास्थ्य निरीक्षक खटाउने भएको छ ।
कोरोना संक्रमणको दोस्रो लहर ओरालो लाग्न थालेपछि बल्ल सरकारले प्रतिकार्यका लागि जनस्वास्थ्य निरीक्षक परिचालन गर्न चासो देखाएको हो । नेपालमा हालसम्म पिसिआर परीक्षणबाट ६ लाख ४८ हजार ८५ र एन्टिजेन परीक्षणबाट ३९ हजार ९१० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको आँकडामा उल्लेख छ । कोरोना संक्रमणबाट हालसम्म देशमा ९ हजार २६३ जनाको मृत्यु भइसकेको छ ।
कोरोना संक्रमणको पहिलो लहरमा र दोस्रो लहर उत्कर्षमा पुग्दासमेत कोभिड–१९ प्रतिकार्यका लागि देशभर निरीक्षक परिचालन गर्न नसकेको स्वास्थ्य मन्त्रालयले अब भने देशभर १ हजार ७७ जना जनस्वास्थ्य निरीक्षक परिचालन गर्ने भएको हो । सरकारले कोभिड–१९ प्रतिकार्यका लागि जनस्वास्थ्य निरीक्षक परिचालन सम्बन्धी संक्षिप्त कार्यविधि, २०७८ जारी गर्दै ७ सय ५३ वटै स्थानीय तहमा परिचालनका लागि तयारी गरिरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले जानकारी दिए । जिल्ला-जिल्लामा म्यापिङ गर्न पत्र पठाइसकेको जानकारी दिँदै उनले पत्रको जवाफ आएपछि आवेदन खुला गरेर प्रक्रियामा जाने बताउनुभयो।











